काठमाडौं, २९ बैशाख । जिल्ला प्रहरी परिसर काठमाडौंको आफ्नै हिरासत कक्ष छ । तर, नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने परिसरले बेग्लै बसाइको व्यवस्था गरिदिएको छ ।
खाणलाई परिसरको हिरासतमा नराखी डिएसपी भरतबहादुर शाहको कार्यकक्षमा बस्ने व्यवस्था मिलाइएको छ। शाह तेस्रो वरीयताका अधिकृत हुनुहुन्छ। प्रहरीमा वरीयताअनुसार कार्यरत अधिकृतको कोठा तोकिन्छ । कोठामा सुविधा पनि सोहीअनुसार हुन्छ । जसअनुसार परिसरस्थित १ नम्बर कोठा कार्यालय प्रमुख एसएसपी दानबहादुर कार्कीको कार्यकक्ष हो ।
२ नम्बर कोठामा एसपी सीताराम रिजाल बस्नुहुन्छ । खाणलाई राख्ने भएपछि प्रहरीले शाहको कार्यकक्षमा राखिएका टेबुल–कुर्सी खाली गरेर सुत्ने खाटको व्यवस्था गरिदिएको छ । कोठामा डिएसपीका लागि राखिएको सोफा भने हटाइएको छैन । फराकिलो कोठामा खाण एक्लैका लागि बस्ने प्रबन्ध मिलाइएको छ ।
खाणलाई ओड्ने–ओछ्याउने भने घरबाटै आएको छ । खाना पनि घरबाटै ल्याइन्छ । पानी भने प्रहरीले कोठामै उपलब्ध गराएको छ । नित्यकर्म तथा ‘फ्रेस’ हुनका लागि जुनियर प्रहरी अधिकृतको ट्वाइलेट तथा बाथरुम प्रयोग गर्न दिएको छ । अति आवश्यकबाहेकका व्यक्तिसँग भेटघाट रोकेको छ । प्रहरी परिसर काठमाडौंले भने स्वास्थ्य र सुरक्षाका कारण उहाँका लागि केही विशेष प्रबन्ध गरिएको बताएको छ ।













प्रतिक्रिया दिनुहोस्