जनता टाइम्स

१३ जेष्ठ २०८०, शनिबार १३:४१

सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनुपर्छ : उपसभामुख राना


काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरुलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ । आज एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताउनुभएको हो । त्यस अवसरमा उनले महिला सांसदहरुका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने समेत बताउनुभयो ।

‘यो राष्ट्रिय प्रोग्राम नै हुनुपर्यो कि महिला दिदी बहिनीहरुलाई, छोरीहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने प्रोग्राम हाम्रो नेशनल प्लानिभित्र, बजेटभित्र यो आउनुपर्यो । बजेटभित्र हरेक स्कुलमा स्यानिटरी प्याड, जसले इन्भारोमेन्टलाई असर गर्दैन । त्यस्तो प्याडहरुको व्यवस्था गर्नुपर्यो’ उपसभामुख रानाले भन्नुभयो,‘यो संसद भवनमा पनि सेनिटरी प्याडहरु राखिएको छैन । सुरुवात माथि नै छैन भने तलसम्म पुग्छ भन्ने हुँदै हुँदैन । म यसमा के भन्न चाहन्छु भने हाम्रा महिला माननीयज्यूहरुलाई सेनेटरी प्याडको लागि जोडदार ढंगले कुरा गर्ने र यसलाई राष्ट्रिय योजनाभित्र राखेर हरेक ठाउँमा यो सेनिटरी प्याडको व्यवस्था गर्नुपर्छ भनेर म भन्दा सिनियर सम्मानितज्युहरुसँग त्यो कुरा गर्ने भनाई राख्न चाहन्छु ।’

उहाँले सबै विद्यालयहरुमा सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले महिलाहरुलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गर्नुभयो । आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटनामा कमी नआएकोले त्यसका विरुद्ध महिलाहरुले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाई थियो । उपसभामुख रानाले महिलाहरुको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंसा पनि गर्नुभयो ।