काठमाडौं, १३ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताउनुभएको छ । काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले वैदेशिक श्रमसम्बन्धी सबै कामहरु पहिला श्रम विभागले गर्ने भएपनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताउनुभयो । मन्त्री भण्डारीले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताउनुभयो ।
श्रमको क्षेत्रलाई सुव्यवस्थित रुपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमीकहरुको लागि राम्रो हुने उहाँले बताउनुभयो । श्रमको ग्लोवलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको भन्दै १० दिनभित्र ऐन परिमार्जनको ड्राफ्ट बनाउने दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्