जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १०:१८

त्यो अवस्था नभएसम्म गणतन्त्र दिगो हुन्न : प्रधानमन्त्री


काठमाडौं, जेठ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो नहुने बताउनु भएको छ ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो ।
उहाँले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने बताउनु भयो ।

जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धतासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको पनि प्रधानमन्त्रीको भनाई छ ।

‘ठूलो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘नेपाली जनताले पटक पटक नागरिक हक अधिकार प्राप्तिका लागि गरेको संघर्ष केवल गणतन्त्र र राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि मात्र सीमित थिएन। राजनीतिक परिवर्तनमार्फत् देशको आर्थिक र सामाजिक अवस्था सुधार गरी नेपाललाई समृद्ध र समुन्नत मुलुकका रूपमा स्थापित गर्ने पनि यसको उद्देश्य थियो ।’

उहाँले जनताबाट चुनिएका जनप्रतिनिधिहरूबाट आज देशको शासनप्रणाली सञ्चालित भइरहेको भन्दै नेपाली जनताको आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरण यो व्यवस्थाको अभिष्ट भएको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको पनि उहाँको भनाई छ ।