जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १४:४२

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानीको व्यवस्था


बाँके, १५ जेठ । बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका लागि पानी पोखरीको व्यवस्था गरिएको छ । तराई भू–परिधि कार्यक्रम नेपाल (ताल) को आर्थिक सहयोगमा निकुञ्जभित्र ८० वटा पोखरीमा पानीको व्यवस्था गरिएको हो । तालका सहनिर्देशक कमलराज राईले निकुञ्जका वन्यजन्तुका लागि पिउने पानीका लागि आवश्यकताअनुसार गत वर्ष तीन र यस वर्ष दुई पोखरीमा पानीको व्यवस्था गर्ने काम भइरहेको बताउनुभयो ।

‘हेर्दा थोरै पैसाका सानासाना काम भएजस्तो देखिन्छ, तर यी संरचना वन्यजन्तुका लागि महत्वपूर्ण सावित भएका छन्, पानी नपाएर काकाकुल भएका वन्यजन्तुले पिउने पानी पाउँदा संरक्षणमा टेवा पुगेको छ’, उहाँले भन्नुभयो,‘अत्यधिक गर्मी बढेसँगै पोखरीको पानी सुक्न थालेपछि हामीले वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरेका हौँ ।’

पोखरीको पानी सुक्न नदिन डिप बोरिङ र हेन्डपम्पको व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो । उहाँले प्राकृतिक र मानव निर्मित पोखरीको संरक्षण गरी वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको बताउनुभयो । ‘सुक्खायाम र अत्यधिक खडेरीमा यहाँका प्राकृतिक ताल सुक्न थालेपछि डिप बोरिङ र हेन्डपम्पमार्फत पानीको व्यवस्था गरेका छौँ’, उहाँले भन्नुभयो ।

निकुञ्जभित्र विद्युत्को व्यवस्था नभएकाले सोलार प्रणालीको सहयोगमा हेन्डपम्पको पानी पोखरीमा ल्याउने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । ‘प्राकृतिक ताल र पोखरीलाई व्यवस्थित गरी ड्याम बनाएर बग्ने पानीलाई सङ्ग्रह गरिएको छ’, प्रमुख संरक्षण अधिकृत साहले भन्नुभयो,‘पानीको अभाव हुन नदिन विभिन्न उपाय अवलम्बन गरिएको छ, पानी सुक्ने पोखरीमा बाहिरबाट चिम्ट्याइलो माटो ल्याएर पानी सुक्नबाट जोगाउने प्रयास भएको छ, कतैकतै सिमेन्टको पोखरीसमेत बनाएर वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको छ ।’

तालले बाँकेको कम्दी जैविक मार्गमा रहेको वन तथा वातावरण संरक्षण समन्वय समिति र सामुदायिक वन समन्वय समितिका लागि रु चार लाख बजेटमा संरक्षण कोष स्थापना तथा परिचालन गरेको जनाएको छ । त्यसैगरी सीपमूलक कार्यक्रमका लागि रु एक लाख ३० हजार खर्च गरिएको छ ।

कार्यालय व्यवस्थापनका लागि रु १० हजार, चोरी, सिकार नियन्त्रण युवा अभियानका लागि रु दुई लाख, वन पुनःस्थापना कार्यक्रमका लागि रु पाँच लाख, निजी वन प्रवद्र्धन कार्यक्रमका लागि रु दुई लाख, आयआर्जन कार्यक्रमका लागि रु पाँच लाख र पानीको स्रोत संरक्षण कार्यक्रमका लागि रु चार लाख गरी कूल रु २३ लाख ३० हजारको आर्थिक सहयोग गरेको जनाइएको छ ।

तालका सहनिर्देशक राईका अनुसार श्री वन तथा वातावरण संरक्षण समन्वय समिति, राप्ती सोनारी गापा–८, ओभरी बाँकेमा पनि तालको आर्थिक सहयोगमा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमका लागि रु तीन लाख खर्च भएको राईले बताउनुभयो ।

त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा रहेको जलसेनी पोखरी स्थापनाका लागि रु २३ लाख ७५ हजार तीन सयको आर्थिक सहयोग गरिएको छ । खैरी तथा गोठेरी पोखरीका लागि रु पाँच लाख र निकुञ्जभित्र रहेका विभिन्न पोष्टको मर्मतका लागि रु तीन लाख खर्च गरिएको छ भने निकुञ्जभित्र सिसिटिभी स्थापनाका लागि रु तीन लाख खर्च गरिएको राईले बताउनुभयो ।