जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार २०:१३

सरकारको गलत कदमविरुद्ध नेकपा एमालेको र्याली


काठमाडौं, २२ जेठ । सरकारको गलत कदम विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले र्याली निकालेको छ । सरकारले एकपछि अर्को गर्दै गरेका संविधानविरोधी र राष्ट्रघाती कदहरुको खवरदारीका लागि आज सदन र सडक दुबै ठाउँबाट एकैचोटी विरोध गरेको हो । शनिबार मात्रै भारतको औपचारिक भारत भ्रमण सम्पन्न गरेर फर्किनुभएका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले दिएको ‘भूमि साटफेर’ को अभिव्यक्ति अहिले विवादित बनिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले बंगलादेश मोडलमा गएर नेपालको लिपुलेकदेखि, कालापानी, लिम्पियाधुरा, गुञ्जी, कुटी, नाभीसम्मको भू–भाग भारतलाई दिन सकिने र सट्टामा नेपालको पूर्वीनाकाबाट बंगलादेश जोड्ने बाटो लिन सकिने अभिव्यक्ति दिनुभएको थियो । उहाँको त्यो विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको हो । एमालेले भूमि साटफेर र नागरिकता विद्येयकको विषयमा संसदमा प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने भन्दै अवरोध गर्दै आएको थियो ।

आज प्रचण्डले सदनमा जवाफ दिदैँ आफूले त्यस्तो अभिव्यक्ति नदिएको भन्दै आफ्नो बचाउ गरेपनि राष्ट्रको भूभाग नै साटफेर गर्ने प्रचण्डको अभिव्यक्तिका विरुद्ध एमाले विश्वस्थ हुन सकेको छैन । सरकारले एकपछि अर्को गल्ती गर्दै जान थालेपछि आज एमालेले सदन र सडक दुबै ठाउँबाट विरोध गर्दै खवरदारी गरेको हो । दिउँसो माइतीघर मण्डलामा हजारौँको संख्यामा एमालेका नेता–कार्यकता भेला भएका थिए ।

अरुबेला हँसिया–हतौडा र सूर्यचिन्ह अंकित झण्डा बोक्ने नेता–कार्यकर्ताहरुको हातमा आज राष्ट्रिय झण्डा फहराइ रहेका थिए । हजारौंका संख्यामा उपस्थित कार्यकर्ताहरु एक हातमा मुर्रा राँगा–भैँसीमा देश साट्न पाइदैन, हाम्रो जमिन हाम्रो अधिकार लेखेको प्लेकार्ड र अर्को हातमा राष्ट्रिय झण्डा फहराएका थिए । केही दिन अघि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने केही घण्टा अघि मात्रै नागरिकता विद्येयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको थियो । त्यस्तै सर्वोच्च अदालतले नै दोषी ठहर गरेका रेशम चौधरीको यो सरकराले आममाफी दिएको थियो । त्यसको विरुद्धमा पनि नेकपा एमाले रुष्ट बनेको छ ।