काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल खप्तडतिर उडेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे र नागरिकता विधेयकबारेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितले जवाफ माग गरेका थिए । त्यहीअनुसार प्रधानमन्त्रीले आजको राष्ट्रिय सभाको बैठकमा जवाफ दिने तयारी थियो ।
तर प्रधानमन्त्री खप्तड राष्ट्रिय सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम जाने भएपछि अन्तिम समयमा बैठक नै स्थगित भएको हो । प्रधानमन्त्री खप्तडतिर लाग्ने भएपछि संघीय संसद्का महासचिव डा. भरतराज गौतमले अन्तिम समयमा सूचना निकालेर बैठक स्थगित गर्नु भएको हो ।
राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने गरी निर्धारण गरिएको थियो । प्रतिपक्षीहरुले प्रधानमन्त्रीको जवाफ माग्दै सोमबार पनि बैठकमा अवरोध गरेका थिए । अहिले पनि एमालेले प्रधानमन्त्री नबोलेसम्म राष्ट्रियसभा बैठक अघि बढ्न नसक्ने जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्