रुपन्देही, २३ जेठ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका भूभागहरूसमेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेत नेतृत्वको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेपाली भूमिलाई भारतीय नक्सामा पार्ने भारतीय हेपाहा प्रवृत्ति प्रति गम्भीर हुन आग्रह गरेको हो ।
आज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत ज्ञापन पत्र बुझाउँदै भारतले आफ्नो संसद् भवनमा राखेको नक्सामा बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरेको भएपनि प्रधानमन्त्रीको भारत भ्रमणमा उक्त विषय नउठाइएको भन्दै आपत्ति जनाएको हो । ज्ञापन पत्रमा भारतले नेपालको भूभाग समेटेर बनाएको नक्सा सच्याउने पहल गर्न नेपाल सरकारसँग माग गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरी नेपाली भूभागको रूपमा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागको सट्टा पट्टा गर्न सकिने भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार पूर्ण छ ।’ युवासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रभुलाई खुसी पार्न भ्रमणको सम्मुखमा सार्वभौम संसद्लाई छलेर निष्क्रिय भैसकेको नागरिकता विधेयक प्रमाणीकरण गरिएको प्रति आपत्ति जनाएको छ ।
यसका साथै नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शिर झुकेको भन्दै उक्त प्रकरण सन्दर्भमा निष्पक्ष छानबिन तथा अनुसन्धान गरी दोषीहरू माथि हदैसम्मको कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ । टोलीमा युवा संघका केन्द्रीय सदस्य कल्पना पाण्डे मगर ,प्रदेश कमिटी सदस्य कृष्ण मल्ल ठकुरी, जिल्ला उपाध्यक्ष दीपक खडकी ,सचिव दिपेश कडेल सह सचिव नवराज थापा, कोषाध्यक्ष नारायण थापालगायत पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्