जनता टाइम्स

२५ जेष्ठ २०८०, बिहीबार १८:३०

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न – खोइ प्रदेशका अधिकार : मुख्यमन्त्री चौधरीले


रुपन्देही, २५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको मन्चमा संघीय सरकारले प्रदेशलाई अधिकार नै नदिएर अपाङ्ग बनाएको गुनासो गर्नुभएको छ । संघीयतालाई प्रदेश सरकारले व्यवहारिक रुपमा प्रयोग गर्न नपाएको बताउँदै मुख्यमन्त्री चौधरीले प्रहरी ऐन, कर्मचारी ऐनलगायतका थुप्रै कानूनहरु कार्यान्वयनमा नलगेर प्रदेश सरकारलाई काम गर्न नदिएको बताउनुभएको हो ।

आज लुम्बिनी केबलकार उद्घाटन कार्यक्रममा पाल्पाको बसन्तपुरमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यसरी कानुनै नबनाएर प्रदेशलाई कहिलेसम्म अलमलाउने सम्माननीय प्रधानमन्त्रीज्यू भनेर प्रश्न राख्नुभएको थियो ।

‘प्रदेश सरकार छ, एक जना प्रहरी यताउता गर्न पाउँदैन, कर्मचारी खटनपटन गर्न पाउँदैन, अन्य अधिकार बाझिएका धेरै कानुन बनेकै छैनन्, अनि कसरी संघीयता बलियो बन्छ सम्माननीय प्रधानमन्त्रीज्यू ? यसरी त अहिलेको व्यवस्था नै संकटमा पर्छजस्तो भइसक्यो त’, मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘संघीयता आइसकेपछि लुम्बिनीमा के छ ? यसको विकास कसरी गर्नुपर्छ र देशको आर्थिक विकासमा के गर्नुपर्छ भन्ने विषयमा संघीय सरकारले विशेष ध्यान दिनुपर्छ ।’