जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १५:३९

दाङमा गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द भए


दाङ, २६ जेठ । दाङमा गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि जेठ ३० गतेसम्म नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाप्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै घोराही उपमहानगरपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका, राप्ती, गढवा, राजपुर लगायतका गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पनि बन्द गरिएका छन् । घोराही उपमहानगरपालिका भित्रका निजी तथा संस्थागत विद्यालय जेठ २६ देखि ३१ गतेसम्म बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ । त्यस्तै देउखुरी क्षेत्रका चारवटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

राप्ती गाउँपालिकाले जेठ २४ देखि २६ गतेसम्म, गढवा गाउँपालिकाले जेठ २५ देखि २९ गतेसम्म, राजपुर गाउँपालिकाले जेठ २६ देखि जेठ ३० गतेसम्म र लमही नगरपालिकाले जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यसैगरी शान्तिनगर गाउँपालिकाले जेठ २५ देखि ३० गतेसम्म विद्यालय बन्द गरेको छ । अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि गर्मीबाट बालबालिका जोगाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको सम्बन्धित पालिकाले जनाएका छन् ।