काठमाडौं, जेठ ३१ । प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेमाथि गम्भीरआक्षेप लगाउनु भएको छ । उहाँले सभामुख संसदमा एक पक्षीय बनेको आरोप लगाउनु भएको हो ।
पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका पदाधिकारी तथा नेतासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदको रोष्टममा पुगेर आफूले सम्बोधन गरिरहेको समयमा रोकेर सभामुखले प्रतिपक्ष नेतालाई बोल्न दिएर गर्नै नहुने काम गरेको आरोप लगाउनु भयो ।
‘सदनमा ओलीहरुको देख्नुभयो नि, डेमोक्रेटिक नम्स, भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिरहेको छु, म हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु मैले । मलाई बोल्नै नदिने गरेर तलका मान्छेलाई बोल्न दिने ? त्यस्तो काम पनि भयो सभामुखबाट। हुँदै नहुने कुरा थियो क्या त्यो,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
उहाँले प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेपछि तत्काल प्रतिपक्षले बोल्न नदिने प्रचलन नभएपनि बोल्न दिएकोप्रति असन्तुष्ट व्यक्त गर्नुभयो। ‘पछि उनीहरु नराम्रोसँग एक्सपोज भए। यीनीहरु लोकतान्त्रिक पनि छैनन्, साँस्कृतिक सभ्यता, नैतिकता केही पनि रहेनछ भन्ने कुरा त देखियो। देख्नलाई छ्याङ्गै देखिय,’ प्रधानमन्त्रीको भनाई थियो, ‘भारत भ्रमणबाट आएपछि ओलीहरुले हुँदै नहुने काम गरे। म बोलिसकेपछि प्रतिपक्षले प्रतिवाद गर्ने कुरा, बोल्न दिने कुरा स्वभाविक र लोकतान्त्रिक थिएन तर दिइयो। प्रधानमन्त्रीले बोलेपछि तत्काल प्रतिपक्षलाई प्रतिवाद गर्न बोल्ने चलन छैन।’
प्रधानमन्त्री प्रचण्डले चार दिने भारतको ओपचारिक भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको र गैह्रसंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणीकरण भएको ठहर गर्दै एमालेलगायत तीन दलले गत जेठ २१ गते संसद अवरुद्ध गरेका थिए। संसद अवरोध भएपछि सूचना टाँस गरी अर्को दिनलाई बैठक तय भएको थियो।
प्रतिपक्ष दल एमाले, रास्वपा, राप्रपाले प्रश्न उठाएर जेठ २२ गते पनि संसद अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्ड र सांसदबीच प्रश्नोत्तर भएको थियो। उक्त प्रश्नोत्तरको क्रममा सांसदको प्रश्नको जवाफ रोष्टममा उभिएर प्रचण्डले दिइरहेको समयमा एमालेले नियमापत्ति गरेपछि सभामुख घिमिरेले प्रधानमन्त्रीलाई रोकेर सांसदलाई बोल्न समय उपलब्ध गराउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्