जनता टाइम्स

१ असार २०८०, शुक्रबार १५:४२

कोरल्ला नाकाको स्तरोन्नतिका लागि तिब्बत सकारात्मक


काठमाडौं, १ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा शुक्रबार बिहान शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले ७औँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सोङसेन ग्याम्पोसँगको विवाहदेखि नै नेपाल र तिब्बतबीच नाता जोडिएको चर्चा गर्दै भूगोल, संस्कृति र परम्पराहरुले बलियो रुपमा तिब्बत र नेपाललाई जोडेको बताउनुभयो ।

उहाँले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीका समयमा नेपाल र चीनबीचको व्यापार र लगानीका गतिविधहरु प्रभावित भएको तथा अहिले तीनवटा नाकाहरु खुला भएकाले यसले व्यापार र लगानीमा प्रर्वद्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चलान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा पुगेको कारण नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रा समेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक भएको बताउनुभयो ।

कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडी बढिरहेको छ । तर, नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य सुरु गर्न नसकिएको अबस्थामा नेपाल तर्फ भन्सार पूर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा नेपालले गरेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

नेपालको मुस्ताङ जिल्ला र तिब्ब्तको ढोङवासेन जिल्लाको सिमानामा हरेक वर्ष जुन र सेप्टेम्बर महिनामा लाग्दै आएको नेचुङ (लिक्ची) मेला रोकिएको हुँदा मेला सुचारु गर्न पनि आग्रह गर्नुभयो । उहाँले कोभिड महामारीको समयमा रोकिएको मेला सुुरु नहुँदा च्याङ्ग्रा, पस्मिना, नुन, लत्ताकपडा, खाद्यान्न लगायतका बस्तुको आयात निर्यात ठप्प भएको र यसले नेपालको उपल्लो मुस्ताङका बासिन्दा प्रभावित भएको जानकारी गराउनुभयो ।

नेपालबाट तिब्बततर्फ निकासी हुने जनवारको आहारमा प्रयोग हुने तयारी घाँस तथा फलफूल, तरकारी र जडिबुटी जस्ता कृषिजन्य उत्पादनको निकासीमा तिब्बत सरकारले भन्सार प्रक्रिया सहजीकरण गर्दा दुई देशबीचको व्यापार असन्तुलन घट्ने उहाँले बताउनुभयो ।

काठमाडौँ देखि ल्हासा, पोखरा र भैहरवा सीधा उडान सुचारू गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिको प्रक्रियामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविधहरु बढ्ने भन्दै तिब्बत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

जवाफमा चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका महासचिव वाङ चेङजुङले कोरल्ला नाकामा भन्सार पूर्वाधार निर्माण गर्न, नेपाली कृषिजन्य उत्पादनलाई भन्सार प्रकृया सरलीकरण गर्न तथा तिब्बतको ल्हासाबाट काठमाडांै, पोखरा तथा भैरहवा सिधा उडानका लागि सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले तिब्बतले यी सबै बिषयलाई कार्यान्वन गर्दै लैजाने आश्वासन पनि दिनुभयो ।