जनता टाइम्स

२ असार २०८०, शनिबार १३:५२

यसपटकको बजेट गणतन्त्रपछिकै सबैभन्दा तुच्छ बजेट हो : पृथ्वीसुब्बा गुरुङ


लमजुङ, असार २ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालको राजनीतिक नेतृत्वले खेलकुदलाई राष्ट्रको गौरवको विषय हो भन्ने बुझ्न नसकेको बताउनुभएको छ ।

लमजुङमा आज आयोजित मिनी म्याराथन प्रतियोगिताको उदघाटन गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीमेत रहनुभएका एमाले उपमहासचिव गुरुङले नेपालमा हालसम्म खेलकुद बुझेका खेलकुद मन्त्री नबनेको बताउनुभयो । खेलकुदले सामूहिक भावना विकास गर्ने कुरालाई बिर्सन नहुने गुरुङले बताउनुभयो । खेलकुदले समाजमा अनुशासन स्थापना गर्ने उहाँले बताउनुभयो ।

खेलकुद अब सोखको विषय मात्र नभएर पेसा र व्यवसाय नै भएको उहाँले बताउनु भयो । तर त्यो सोचका साथ देशका खेलकुदका संयन्त्रले काम गर्न नसकेका उहाँको भनाई छ ।

अहिलेको गठबन्धन सरकारले लोकतान्त्रिक मर्म अनुसार काम गर्न नसकेको निश्कर्ष पनि उहाँले सुनाउनु भयो । प्रधानमन्त्री, कांग्रेस सभापति र अर्थमन्त्रीको क्षेत्रमा मात्र बजेट बाँडेको भन्दै उहाँले कडा आलोचना गर्नुभयो । अहिलेको बजेट अविवेकी भएको पनि उहाँले बताउनुभयो । त्यसको नेकपा एमालेले मात्र होइन, सत्तारुढ दलकै सांसद र नेताहरूले विरोध जनाएको गुरुङले प्रष्ट पार्नुभयो । ‘गणतन्त्र आइसकेपछिको सबैभन्दा तुच्छ खालको बजेट यस पटक आएको छ’, उहाँले भन्नुभयो ।

सरकारले ल्याएको बजेटले गरिबी नियन्त्रणको विषयमा कुनै कुरा नबोलेको बताउनुभयो । गरिब, मजदुर, किसान, व्यवसायी कसैको पनि हितमा यो बजेट नरहेको उहाँले दाबी गर्नुभयो । यस पटकको बजेट केवल नेतामुखी भएको उहाँले बताउनुभयो । यो बजेट जनताको हितमा नभएको उहाँको भनाइ छ ।