जनता टाइम्स

५ असार २०८०, मंगलवार १९:४१

स्वास्थ्य मन्त्रीलाई एमालेले बुझायो ११ बुँदे ज्ञापनपत्र, आधारभूत अस्पताल निर्माण चाँडै सक्नेदेखि यस्ता छन प्रमुख माग


काठमाडौं, असार ५ । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

एमाले सरकारले अघि बढाएका आधारभूत अस्पतालको निर्माण प्रक्रिया लगायत कार्यक्रम अघि बढाउन माग गर्दै एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभागले मंगलबार मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएकाे हाे ।

विभागका प्रमुख कृष्ण गोपाल नेतृत्वमा पुगेकाे टोलीले विगतको सरकारले ३ सय ९६ ठाउँमा आधारभूत अस्पतालको शिलान्याश गरेपनि अहिले बजेट अभावका कारण निर्माणले गति लिन नसकेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन माग मन्त्री बस्नेतसँग माग गरेकाे छ ।

आधारभूत स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरुको निर्माण चाँडो सम्पन्न गर्नुपर्ने र प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत शय्या विपन्नका लागि निःशुल्क छुट्याएर सम्पूर्ण उपचार निःशुल्क गर्नुपर्ने नियम कडाईसाथ लागू गर्नुपर्ने माग एमालेले गरेकाे छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सहजीकरण गर्नुपर्ने, संघीय स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनुपर्ने र जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ को पूर्ण कार्यान्वयन गर्नुपर्ने एमालेकाे माग छ । एमालेले दरबन्दी अनुसारको जनशक्ति व्यवस्था गर्नुपर्ने, महामारीजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणको पूर्व तयारी गर्नुपर्ने लगायत माग गरेकाे छ ।

ज्ञापनपत्र बुझाउँदै विभागका प्रमुख श्रेष्ठले स्वास्थ्य सेवामा देखिएका समस्या समाधान गर्दै स्वाथ्यकर्मीलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयाे । उहाँले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा बजेट कम हुनु उचित नभएको बताउनुभयाे ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य सम्बन्धी विषयमा आएका सुझावहरु महत्वपूर्ण रहेको भन्दै यसलाई आवश्यक छलफल गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाइने, सबै जनतालाई सहज रुपमा स्वास्थ्योपचारको व्यवस्था गर्न ध्यान केन्द्रित गर्ने बताउनुभयाे ।