जनता टाइम्स

८ असार २०८०, शुक्रबार १९:१३

प्रचण्ड नेतृत्वको सरकार ढल्न लागेको माधवको खुलासा


काठमाडौं, असार ८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सरकार ढल्न लागेको खुलासा गर्नुभएको छ ।

नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी काँग्रेससँग सरकार बनाउन तयारी गरिरहेको भन्दै बर्तमान सरकार ढल्न लागेको तथ्य बाहिर ल्याउनु भएको हो। शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको भन्दै सरकारमाथि खतराको घन्टी बजेको बताउनु भयो । उहाँले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रुपमा उदाएको दाबीसमेत गर्नुभयो । उहाँले एमालेले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरुले गरेको कदमलाई पनि सहन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ । अर्थात हामीले चालिरहेको कदमलाई सकारात्मक रुपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकतावद्ध बनाएर समाजवाद बिरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, बिस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौँ, तपाईहरुले गर्नुभयो भन्नुपर्ने हो । ठूलो पार्टीले गर्नुपर्ने हो तर चाहेन, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहेन । समाजवादी शक्तिलाई एकतावद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाइ अघि बढाउन खोजिरहेका छन् ।’

अध्यक्ष नेपालले नेपाली काँग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको भन्दै कडा आलोचना गर्नुभयो ।