जनता टाइम्स

९ असार २०८०, शनिबार १३:३१

अहिलेको गठबन्धन फुट्न लागेको गगन थापाको खुलासा, चित्त नबुझे अर्को गठबन्धन फेरिने घोषणा


काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको गठबन्धन फुट्न लागेको घोषणा गर्नुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने पनि बताउनुभयो । महामन्त्री थापाले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको भन्दै यस्तो बताउनुभएको हो ।

महामन्त्री भन्नुभयो, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार। ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ कि हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने बद्लिन्छ ।’

उहाँले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताउनुभयो । थापाले सरकार छोड्नपरे पनि नडराइकन एक्ला–एक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गर्नुभयो ।