जनता टाइम्स

१४ असार २०८०, बिहीबार १५:१५

विनाकारण फैलाइयो भ्रम, जलहरीमा कसैको नाम कुँदिएको छैन : पशुपति विकास कोष


काठमाडौं, १४ जेठ । पशुपति विकास कोष र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा प्रतिस्थापित सुनको जलहरीमा कसैको नाम नकुँदेको जनाएको छ । जलहरीलाई लिएर विवाद उत्पन्न भएपछि आयोगले उक्त जलहरीको नापजोख गर्ने काम सम्पन्न गरेसँगै नाम नकुँदिएको पनि प्रष्ट्याएको हो । अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन भनेर जोखेर हेरेको थियो ।

०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपति मन्दिरमा सुनको जलहरी राखिएको थियो । जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको समाचार केही सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । कुँदिएका नामहरु मेटाएरमात्रै पुनःस्थापना गर्नुपर्ने माग धेरैले राखेका थिए ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भित्तामा राखिएको उद्घाटन प्लेटमा परम्परागत प्रचलनअनुसार तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीलगायतको नाम उल्लेख रहेको स्पष्ट पार्नुभयो । उहाँले जलहरीमा कसैको नाम नभएको पनि प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरु असत्य हुन्, भ्रम फैलाइयो ।’ यता अख्तियारले पनि जलहरीमा कसैको नाम नभएको जनाएको छ । केही समयमा यसबारे सबै प्रक्रिया सकाएर औपचारिक वक्तव्यमार्फत जानकारी गराउने अख्तियारको तयारी छ ।