भक्तपुर, असार १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको नेकपा एमालेसँगको एकता बचाउन नसक्नु दुःखद भन्दै माफी माग्नुभएको छ ।
आफ्नै नेतृत्वमा दुई पार्टीबीच एकतापछि बनेको नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध संघीन आरोप लगाएर पार्टी बिभाजन गर्नुभएका दाहालले आज भक्तपुरमा आयोजित कार्यक्रममा पार्टी ब्रेक हुन निकै दुःखद भन्दै माफी माग्नुभएको हो । नेकपा बिभाजन गर्न दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ लाग्नुभएको थियो ।
दाहालले सो कामलाई दुःखद भन्दै माफी माग्नुभएको हो । उहाँले बिगतमा भएको कमी कमजोरीबाट सिकेर नयाँ सिराबाट एकताको दिशामा अगाडि वढ्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । सवै कम्युनिष्ट पार्टी एकजुट बनेर समाजवादको नयाँ यात्रा तय गर्नुपर्ने प्रस्ताव पनि दाहालले राख्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायण विलाश जोशीको स्मृतिमा भक्तपुरको मध्यपुर थिमिमा आज भएको रामविलाश जोशी स्मृति प्रतिष्ठान भवन उदघाटन तथा प्रतिमा अनावरण कार्यक्रमको दाहालले समाजवादको नयांँ यात्रा तय गर्न कम्युनिष्ट पार्टीहरुको एकता आवाश्यक भएको बताउनु भयो ।
त्यही अनुसार पछिल्लो समय आफू नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव र उपेन्द्र यादव नेतृत्वको कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको दिशामा लागिरहेको दाहालको भनाई थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेको र अव जनताको जीवनमा क्रान्ति बाँकी रहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्