काठमाडौं, असार १८ । ललिता निवास जग्गा प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत नक्कली मोही खडा गरिएका महर्जनलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरेको हो ।
उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको सिआइवीले जनाएको छ । यससँगै यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परेका छन । पक्राउ परेका तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन ।
तत्कालीन अधिकृत पोखरेलले समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान कागजात तयार पारेको प्रहरीको भनाई छ । यस्तै गुठीमार्फत नक्कली मोही खडा गरिएका महर्जनले ६ लाख रुपैयाँ लिएर आफू नक्कली मोही बन्न तयार भएको अनुसन्धानमा खुलेको छ ।
समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमा लैजान तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले २०६९ सालको विभिन्न मितिमा निर्णय गरेको थियो ।
सोही क्रममा नक्कली मोही खडा गर्ने गरी भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव दिनेशहरि अधिकारीसहितका कर्मचारीले टिप्पणी उठाउनेदेखि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नेसम्मका काम गरेको अनुसन्धानले देखाएको छ । त्यसका लागि डिल्लीबजार मालपोत, समरजंग कम्पनी र गुठी संस्थानका कर्मचारीको मिलेमतोमा भूमाफियाले जग्गा हडप्ने पृष्ठभूमि तयार पारेका थिए । यही प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईमाथि पनि अनुसन्धान गर्नुपर्ने माग उठिरहेको छ ।
समरजंग कम्पनीबाट टिकिन्छा गुठीमा ५ रोपनी जग्गा कायम गरेर भूमाफिया रामकुमार सुवेदी र सोभाकान्त ढकालसहितका गिरोहले आफ्नो बनाएका थिए । सिआइवीले यस बिषयमा थप अनुसन्धान अघि बढाएको छ ।













प्रतिक्रिया दिनुहोस्