काठमाडौं, असार १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अनौठा विगतले भरिएको देश भएको बताउनुभएको छ । सोमबार छोरीको घर ज्येष्ठ नागरिक आश्रमको उदघाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले नेपालमा बालबालिका, ज्येष्ठ नागरिक प्रति हेरचाह गर्ने, सेवा गर्ने परम्परा निक्कै पुरानो भएको बताउनुभयो । सम्बोधनको क्रममा अध्यक्ष ओलीले स्याङ्जाको आँधी खोलामा श्रवण कुमार मारिएका र उहाँका आमाबुबाको उद्धार गरिएको कथा पनि सुनाउनुभयो ।
रिडीको छेउको रुरु क्षेत्र उपनिषद् र पुराणको प्रसिद्ध क्षेत्र भएको ओलीले सुनाउनुभयो । हरिणले समेत दूध पिलाएर बालिका बचाएको पवित्र भूमि नेपालमा नै भएको तथ्यसहितको इतिहास पनि उहाँले सुनाउनुभयो । नेपालमा यस्ता अनेक दृष्टान्त भएका उहाँले बताउनुभयो ।
अलिकति नेपाली परम्परा, संस्कृति र पहिचान भन्दा फरक संस्कृति आउन खोजेको उहाँले बताउनुभयो । गुरुलाई नमान्ने, आदर भाव नदेखाउने, आमा बुबालाई हेला गर्ने कुरा कताकति सुनिने गरेको भन्दै ओलीले दुःख व्यक्त गर्नुभयो । तर पनि समाजमा अहिले पनि नराम्रो मात्र होइन, राम्रो परम्परा र संस्कार रहेको बताउनुभयो । ‘आज पनि हाम्रो समाजमा नराम्रा मात्र होइन, नराम्रा मात्र खोज्ने होइन, हामीले राम्रो खोजेर राम्रोलाई बढवा दिनुपर्छ’, उहाँले भन्नुभयो ।

समाज रूपान्तरणको लागि दण्ड विधि भन्दा उत्प्रेरणा विधि महत्त्वपूर्ण हुने ओलीको भनाई छ । ‘मानिसलाई उत्प्रेरित गरेर घृणा होइन प्रेम फैलाउने, हिंसा होइन शान्ति फैलाउने, द्वन्द्व होइन मेलमिलाप फैलाउने, विविधतामा एकता बढाउने, त्यस प्रकारका सोच हुनुपर्छ’, ओलीले भन्नुभयो ।
उहाँले आफू प्रधानमन्त्री हुँदा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता ४ हजार रुपैँया पु¥याएको, सडकमा कुनै पनि नेपाली बस्नु हुँदैन भनेर सडक बालबालिकाको व्यवस्थापन गरेको, कसैलाई पनि भिक मागेर खानु नपर्ने स्थिति बनाएको बताउनुभयो । नेपालमा दुर्गम ठाउँ काहीँ पनि नरहोस् भनेर सडक बनाएको उहाँले जानकारी दिनुभयो । हुलाकी मार्ग, पूर्वपश्चिम राजमार्ग, मध्य पहाडी मार्ग, जनकपुरपुरमा रेल लगायतका धेरै काम आफू सरकारमा हुँदा गरेको उहाँले सुनाउनुभयो ।
मध्य पहाडी मार्गको झुलाघाटबाट पूर्वसम्मको यात्रा गर्ने चाहना रहेको बताउँदै नागरिकलाई भेट्दै हिँड्ने एक महिनाको यात्रा आफूले गर्न लागेको जानकारी दिनुभयो । एक महिनाको यात्रा, पहाडका जनता भेट्दै भेट्दै हिँड्ने, त्यो मैले योजना गरेको छु’, ओलीले भन्नुभयो ।

ओलीले नेपालका दुर्गम भन्दा दुर्गम गाउँ आफूले घुमेको सुनाउनुभयो । हिमाल पारीका गाउँ आफूले घुमेको उहाँले बताउनुभयो । झापाकालाई मात्र होइन देश भरिका नागरिकको बारेमा आफूले सोच्ने र काम गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
आफूलाई कुनै पनि कुरामा श्रेय पाउनु र नपाउनुसँग कुनै अर्थ नराख्ने ओलीले बताउनुभयो । ‘कसैले राम्रो भनोस, नराम्रो भनोस, तर राम्रो काम चाहिँ गरिरहनु पर्छ’, उहाँले भन्नुभयो । आफू प्रतिफलको लागि भन्दा पनि सेवा भावले काम गर्ने ओलीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्