सुर्खेत, असार १८ । एमाले सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले एमालेलाई एक नम्बर पार्टी बनाउने संकल्पसहित आफू कर्णाली आएको बताउनु भएको छ ।
जनसंगठन समन्वय संयन्त्र कर्णाली प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै इञ्चार्ज भटटले यस्तो बताउनु भएको हो । उहाँले आत्मकेन्द्रीत सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बटमलाइन पनि सुनाउनु भयो ।
इञ्चार्ज भट्टले जनसंगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राख्नुभयो । ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीको कारखाना हुन्,’ उहाँले भन्नुभयो, ‘संगठनका सदस्यहरुले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’ पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन, दस्तावेजहरु जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उहाँको भनाई थियो ।
बैठकमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेतृत्वको भत्र्सना गरेर मात्र नेता भइन्छ भन्ने सोच त्याग्न आग्रह गर्नुभयो । कुण्ठा पोख्ने, अराजकता प्रर्दशन गर्ने शैलीबाट पार्टी नबन्ने भन्दै ढकालले भन्नुभयो, ‘जनवर्गीय संगठनहरुले कार्यशालामार्फत आफ्नो संगठनका मुद्दाहरुको पहिचान गरी जनतासंग जोडिनुपर्छ, पार्टी नीति र नेतृत्वको सदैव रक्षा गर्नुपर्छ ।’

पार्टी केन्द्रीय सदस्य एवं स्कूल विभागको प्रदेश संयोजक विष्णु रिजालले ‘पपुलिज्म’ले पार्टी र युवा पुस्तामा पारेको प्रभावलाई निस्तेज पार्नु अहिलेको मुख्य चुनौति रहेको बताउनु भयो । उहाँले पार्टीले मिसन ग्रासरुटपछि जनसंगठन, पार्टी स्कूल र प्रचारको कामलाई व्यवस्थित गर्न विशेष कार्ययोजनाका साथ काम अघि बढाउने निर्देशन दिएको बताउनु भयो । साथै उहाँले पार्टी स्कूल विभागले कर्णाली प्रदेशमा ४० जना प्रशिक्षक उत्पादन गरी पार्टी कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक प्रशिक्षण दिने योजना रहेको जानकारी दिनुभयो ।
अर्का केन्द्रीय सदस्य एवं प्रदेशका प्रचार संयोजक निरज आचार्यले पार्टी प्रचार संगठनलाई पालिकातहसम्म पुर्याउनुपर्ने बताउनु भयो । उहाँले यही असार २८ गते प्रदेश प्रचारको कार्ययोजना बनाउन बैठक बस्ने र उक्त बैठकले पालिका तहसम्म पुगेर प्रचार विभाग गठन गरी प्रचारको काम गर्ने जानकारी दिनुभयो ।
बैठकमा कर्णाली प्रदेशमा क्रियाशिल २० वटा जनवर्गीय संगठनका इञ्चार्ज/अध्यक्षहरु तथा संगठनका जिल्ला संयन्त्र संयोजकहरुले रिर्पोटिङ गरेका थिए ।जनसंगठन समन्वय संयन्त्रको बैठकको अध्यक्षता एमाले प्रदेश कमिटी उपसचिव एवं संयन्त्रका संयोजक टेकराज पछाई, सञ्चालन अनेरास्ववियूका इञ्चार्ज रुद्र शाही र संयन्त्रका प्रदेश इञ्चार्ज गुलाबजंग शाहले बैठकका उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्