जनता टाइम्स

२० असार २०८०, बुधबार ०९:५३

एनआरएनए कतारको आर्थिक अनियमितता छताछुल्ल, प्रमुख सल्लाहकारले नै उठाए गम्भीर प्रश्न


कतार, असार २० । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) कतारको दशौँ अधिवेशनको मिति नजिकिंदै गर्दा समितिको विवादित कार्यले तरंगित बनेको छ । अन्तिम परिषद भेलामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विवाद तथा उक्त भेलामा उठेका प्रश्नहरूको गर्मी नसेलाउँदै पुनः संस्थाको कार्यसमिति विवादमा तानिएको हो ।

विधानसंग सम्बन्धित रहेर अन्तिम परिषद भेलामा उठेका प्रश्नहरूको जवाफ अहिलेसम्म राष्ट्रिय समन्वय समिति कतारले औपचारिक रूपमा सार्वजनिक गरेको छैन भने उठेका विवादलाई आन्तरिक रूपमा सहमतिमा मिलाएको भन्ने आरोप अझै खेपिरहेको छ । एनआरएनए आइसीसीमा केही समय अघि भएको सहमति अनुरुप दुइवटा समूह मिलेर अधिवेशन गर्ने भनिएता पनि कतारको सन्दर्भमा मुक्तादा समूहले सुरेश भट्टको समूहसँग समन्वय नगरी बन्द गरिएको परिषद सदस्यता पुनः ३ दिनको निम्ति खुलाएको थियो ।

जसको काउण्टरमा भट्ट समूहले केन्द्रलाई पत्राचार गरी एकताको वातावरण नबिगारि दिन केही दिन अगाडि मात्र अनुरोध गरेको छ । मुक्तदाको समूह केन्द्रको भावना विपरित भट्ट समूहलाई पेलेरै जान खोजेको देखिदै आएको छ । फुटेर दुईवटा भएको एनआरएन आईसीसी सहमतिमा पुगेपछि कतारमा पनि सहमतिको निमित्त संवाद हुनुपर्नेमा नभएको गुनासो सहित सुरेश भट्ट समुहले असन्तुष्टि जनाउँदै आएको छ ।

यिनै विवादहरूका गर्मागर्मी बिच मंगलवार अर्थात ४–जुलाई २०२३ का दिन एनआरएनए एनसीसी कतारका पूर्व प्रथम उपाध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार उत्तम गुरुङले संस्थाका सदस्यहरू आर्थिक अपचलनमा मुछिएको अभिव्यक्ति दिनुभएको छ । संस्थाका अध्यक्ष मुक्तादा मुसलमान, महासचिव पदम गिरी कोषाध्यक्ष बिनोद बसौला तथा सन्तोष रेग्मीले आइएलओ प्रोजेक्टको पैसा के कसरी खाएको छ, घोटाला कसरी गरेको छ त्यसको उत्तर दिनु पर्ने भन्दै संघ संस्था समन्वय २०२१–२०२३ को ग्रुपमा लेख्नुएको छ ।

यो आर्थिक आर्थिक अपचलनको कुरा पत्रकार सम्मेलन मार्फत चाँडै सार्वजनिक गर्ने कुरा समेत त्यही संस्थाको ग्रुपमा जनाउनु भएको हो । एनसीसी कतारको कोषको रकम कहाँ कति निकालेर कहाँ लगानी गरिएको छ ? त्यसमा को को सहभागी बनेका छन ? कुन कुन व्यवसायबाट कति कति पायौ ? एनसीसीको परिषद सदस्यता आह्वान गर्दा के के चाहिन्छ भनेर भनेका थियौ र के कसरी सदस्यता पास गर्यौ ? ३ सयदेखि ४ सय जनासम्म परिषद सदस्यलाई वैध दस्तावेज बिना नै प्रमाणित कसरी गर्यौ आदि कुराको प्रमाणसहित लिएर पत्रकार सम्मेलनमा आउने जनाउंदै उक्त पत्रकार सम्मेलनमा प्रश्नहरूको सामना गर्न तयार रहन ग्रुपमार्फत भन्नुभएको छ । वर्तमान प्रमुख सल्लाहकार उत्तम गुरुङले कार्यसमिति अर्थिक अपचलनमा मुछिएको दावी गर्दै संघसंस्था ग्रुपमा आफ्नो धारणा टाइप गरे पश्चात गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार भित्र रहेको आर्थिक अपचलनको गहिरो विषय बाहिर देखिएको छ ।

यो विषय बाहिरिएसँगै विनोद कुँवर समूह तर्फका एनआरएनए एनसीसी कतारका अध्यक्ष सुरेश भट्टले यसको आधिरिकताको तुरुन्त पुष्ट्याई गर्न सामाजिक संजालमार्फत माग गर्नुभएको छ । कुँवरले फेसबुक वालमा “एनआरएनए एनसीसी कतारकै प्रमुख सल्लाहाकारबाट यस्तो प्रतिक्रिया आउँदा यसलाई आधार मान्न सकिन्न भन्ने हुँदैन “ भन्नुभएको छ ।

“मोहम्मद मुक्तदा नेतृत्वको एनआरएनएभित्र यस्तो कुरा बारम्बार उठिरहेका विषय हुन तर उठेका प्रश्नहरूबाट भागेर उहाँ दोस्रो कार्यकालको अन्तिम समयसम्म पनि जवाफदेही बन्न नसक्नु भनेको शंकाको ठुलो घेरामा आफुलाई उभ्याउनु हो “। भनेर आफ्नो वालमा लेखेका छन । “गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतारभित्र भएका विभिन्न किसिमका आर्थिक अपचलनका कर्तुतहरू अधिवेसनको छेक पारेर बाहिर निस्किन थालेका छन् जसले संस्थाभित्र भएका आर्थिक अपचलनमा को को संलग्न छन् भन्ने कुराको निर्धारण गरिदिएको छ । यो भन्दा अगाडि पनि यस्ता किसिमका विषयहरू बाहिर आउने गरेका थिए, जसलाई विभिन्न माध्यमको प्रयोग गरेर दबाउने प्रयास गरिन्थ्यो। यसपाली संस्था भित्रैबाट आवाज निस्किएको हुँदा सम्बन्धित पक्षले यसको कसरी जवाफ देला? या यतिकै दवाउला ?“ भन्दै संजाल मार्फत शंका व्यक्त गरेका छन ।

भट्टले आफ्नो वालमा अझै थप्दै लेख्नुभएको छ, “हिजो यही विषय मैले उठाउँदा मुक्तदा समूहले त्यसलाई डिफेन्ड गर्नको निमित्त विभिन्न किसिमका समूह परिचालन गर्यो । तर अहिले समिकरणीय परिस्थिति परिवर्तन हुन साथ संस्थाभित्र भएका विकृतिहरू बाहिर आएका छन । यस्ता कार्यहरूमा संलग्न भएका सबै फोहोरलाई बाहिर ननिकाले सम्म संस्था सुद्ध हुने छैन। संस्थाको शुद्धिकरणको निमित्त बाहिर निस्किएका सबै बिषयलाई न्यायिक ढंगले यथोचित निराकरण नगरेसम्म यो विषय पेचिलो बनिरहने भयो ।

यतिखेर चुप लागेर बस्ने समय होइन, समाज खण्डित तुल्याउने यस्ता अपचलनका विषयलाई तुरुन्त सम्बोधन गर्नको निमित्त उचित कदम चाल्नु पर्ने हुन्छ । ल्च्ल्ब् संस्था धाराशायी हुनु अगावै यसको निराकरण को निमित्त जिम्मेवार पक्ष सक्रिय होस्।“ भन्दै यसका निम्ति समाजका अग्रजहरूको सामाजिक संजाल मार्फत ध्यानाकर्षण गराएका छन्।