जनता टाइम्स

२० असार २०८०, बुधबार ११:१८

प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल


काठमाडौं, असार २० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रितम सिंहबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्ति हदैसम्मको नकचरोपनको संज्ञा दिनुभएको छ ।

‘प्रचण्ड सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन । प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो,’ पोखरेलले भन्नुभएको छ ।

महासचिव पोखरेलले प्रधानमन्त्रीको अभिब्यक्ति क्षमायोग्य नरहेको पनि बताउनु भएको छ । ‘जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ,’ पोखरेलको भनाई छ ।

महासचिव पोखरेलको भनाई जस्ताको तस्तै

प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । ‘प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।

प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जानेनै छ ।