जनता टाइम्स

२१ असार २०८०, बिहीबार १४:५३

प्रधानमन्त्रीले बोल्नै नहुने कुरा बोलेकोमा सत्ता गठबन्धन एकमत, तर राजीनामा दिन नपर्ने अडान


काठमाडौं, असार २१ । सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्चण्डले बोल्नै नहुने कुरा बोलेको निश्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर राजीनामा मागेपछि आज बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निश्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीले बोल्नै नहुने कुरा बोले पनि राजीनामा माग्ने कुरा चाँहि गलत रहेको ठहर पनि गठबन्धनले गरेको छ । बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पनासमेत गर्न नसकिने बताउनु भयो ।

‘प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको भन्नेबारे संसदमा आफ्नो विषयवस्तु राख्नुहुन्छ । त्यो उहाँले धेरै वर्षको कुरा गर्नुभएको हो । अहिले त्यसलाई अघि बढाउन मिल्दैन ।’ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीकै गल्ती भएको बताउनु भयो ।

‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो । मित्र राष्ट्रहरुलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो,’ शर्माको भनाई छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले पदमा बसेपछि जिम्मेवार भएर बोल्नुपर्ने तर्क गरिरहेका छन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडानमा छ । प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदनका दुवै बैठक चल्न नसक्ने पक्षमा एमाले उभिएको छ ।