जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार ०९:००

शिकागोमा भब्य रुपमा मनाइयो तीज


शिकागो, अमेरिका । अमेरिकाको शिकागोमा रहेका नेपालीहरुले यो बर्षको तीज भब्य रुपमा मनाएका छन । तीजको दर खाने दिन सेप्टेम्बर १ को दिन पारेर शिकागोमा रहेको नेपालीहरुको साझा संस्था शिकागो ल्यान्ड नेपाली फ्रेन्डसिप सोसाइटीले दर खुवाउने र नाच्ने–नचाउने कार्यक्रम आयोजना गरेको हो ।

नेपालीहरुको बाक्लो बस्ती रहेको इड्जवाटर स्थित आर्मोरी पार्क बिल्डिङ्गमा आयोजित तीज गित कार्यक्रममा करिब ५ सय जना भन्दा बढी महिला दिदिबहिनी तथा दाज्युभाईहरुको उपस्तिथि रहेको थियो । दिउँसो २ बजेदेखि शुरु भएको दर खाने र नाच्ने नचाउने कार्यक्रम सान्झ ८ बजेसम्म चलेको थियो । कुखुराको मासु, आलु बोडि तामाको तरकारी, खिर तथा पुलाउको दर स्थानीय हिमालयन शेर्पा किचनले मीठो खाना उपलब्ध गराएको थियो ।

संस्थाको महिला बिभागद्वारा आयोजित तीज कार्यक्रमको अध्यक्षता कार्यसमिति सदस्य तथा महिला बिभाग प्रमुख त्रिपूरा सुन्दरी पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाकी कोषाध्यक्ष मेनुका थारुले गर्नु भएको थियो । सामाजिक अभियन्ता कबिता नेपालले सन्चालन गरेको कार्यक्रममा सन्स्थाका सभापति टेकराज पौडेल नेपाल सरकारका बाणिज्य दुत मार्भिन ब्रोस्टिन, एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर सत्यनारायण चौधरी, पुर्व सांसद रामकुमार ज्ञवाली, एनआरएन इलिनोइज च्याप्टरका सभापति ललनदेब डिसि, शिकागो साहित्य समाजका सभापति बिश्ना बिरही, एसियन काउन्सिलका सदस्य जितु राणा, संस्थाका सल्लाहकार लगायतले शुभकामना दिनुभएको थियो । सो अवसरमा महिला दिदीबहिनीहरु करिब ५ घन्टा सम्म अनबरत रुपमा नाचेका थिए ।

आफ्ना छोरा छोरी भेट्न नेपालदेखि शिकागो आएका अभिभावकहरुको पनि खुव रमाएका थिए । उनीहरुको भनाइ थियो, ‘कि यति रमाइलो त नेपालमा पनि हुन्न ।’ अभिभावकहरुको संख्या पनि ६० जना भन्दा बढी रहेको थियो । सन्स्थाका महासचिब शिबराज अधिकारीले उपस्थित सबै सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमलाई ब्यबस्थापन गर्नको लागि खेम पन्थी, गोपिचन्द्र भुसाल, गोपाल जिसि, मीन दर्लामी, मधुसागर पौडेल, घनश्याम भट्टराई, नारायण खड्का, सुमन श्रेष्ठ, पदम राना, जितु राणा, दीपनारायण अर्याललगायत एक दर्जन सहयोगीहरु खटिएका थिए । कार्यक्रममा डिजे र म्युजिक सिस्टममा ललन देब र लक्ष्मण न्यौपानेले गर्नुभएको थियो ।