काठमाडौं, कात्तिक १८ । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले प्रवासी नेपालीको पूँजीलाई राष्ट्रिय विकासमा जोड्नुपर्ने बताउनु भएको छ ।
बुधवारबाट काठमाडौंमा सुरु भएको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ नेता भण्डारीले यस्तो धारणा राख्नुभएको हो ।
देशभित्र रहेका सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै भण्डारीले प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्ने बताउनु भयो । ‘स्वदेशी तथा विदेशी लगानी परिचालन गर्दै प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप र उद्यमशीलतालाई राष्ट्रिय विकाससँग जोड्नुपर्छ,’ उहाँको भनाई थियो ।
प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने पनि उहाँको भनाइ छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने भण्डारीको बताउनु भयो ।
‘सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ,’ भण्डारीले भन्नुभयो । उहाँले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने पनि बताउनु भयो । ‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउनु राज्यको दायित्व हो,’ भण्डारीले भन्नुभयो ।
यस्तै भण्डारीले नेपाल जलस्रोत, जंगल, जडिबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न मुलुक भए पनि उपलब्ध स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने धारणासमेत राख्नुभयो ।
पूर्वराष्ट्रपतिसमेत रहनुभएकी भण्डारीले जलविद्युत, खाद्य प्रशोधन, जडिबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवद्र्धन र वातावरणमैत्री पर्यटन विस्तारबाट रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न तथा निर्यात प्रवद्र्धन गर्न सकिने बताउनु भयो ।
सम्बोधनको क्रममा भण्डारीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको पनि उल्लेख गर्नुभयो । देशको आर्थिक रूपान्तरणका लागि प्रवासी नेपालीको ज्ञान, सीप र पूँजीलाई स्वदेशी निजी क्षेत्रसँग जोड्नुपर्ने खाँचोसमेत उहाँले औंल्याउनु भयो ।














प्रतिक्रिया दिनुहोस्