जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ११:२५

बालेनको भारत भ्रमणको एजेण्डा तय गर्न भारतीय विदेश सचिव मिस्री काठमाडौंमा 


काठमाडौं, कात्तिक १८ । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुग्नुभएको छ। नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायको निमन्त्रणामा नेपाल आउनुभएका मिस्रीले भ्रमणका क्रममा नेपालका उच्च राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। प्रधानमन्त्री शाह आगामी मङ्सिरको अन्तिम सातातिर भारत भ्रमणमा जाने तयारी भइरहेका बेला मिस्रीको नेपाल भ्रमणलाई दुई देशबिच उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवाद अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल हुनेछ। नेपालका परराष्ट्र सचिव राय र मिस्रीबिच हुने द्विपक्षीय वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गरिनेछ।

तर, मिस्रीको भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको एजेन्डा तयार गर्नु र त्यसलाई परिणाममुखी बनाउनु रहेको बुजिएकाे छ ।