काठमाडौं, १८ कात्तिक । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुग्नुभएको छ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले स्वागत गर्नुभएको थियो।
नवनियुक्त भारतीय राजदूत दलेला पनि आफ्नो जिम्मेवारी सम्हाल्न मंगलबार काठमाडौं आइपुग्नुभएको हो।
भ्रमणका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहित नेपालका मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उहाँले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्नुहुनेछ।
भारत र नेपालबीच बलियो तथा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै भारतीय विदेश मन्त्रालयले विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यमा उल्लेखनीय प्रगति भएको जनाएको छ। मिस्रीको भ्रमणले नियमित उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिँदै समग्र द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउने मन्त्रालयको विश्वास छ।
प्रधानमन्त्री बालेन मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। भ्रमणको तयारी नेपाल र भारतका परराष्ट्र मन्त्रालयले गरिरहेका छन्।
प्रधानमन्त्रीसँगको भेटवार्तापछि द्विपक्षीय सहमतिका आधारमा भ्रमणको मिति तय हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्