काठमाडौं, कात्तिक १८ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्का लागेको बताउनुभएको छ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले प्रत्यक्ष निर्वाचनमा एमालेजस्तो राजनीतिक दल नौ सिटमा सीमित हुनुपर्ने अवस्था पार्टीका लागि कल्पनाभन्दा बाहिरको विषय भएको उल्लेख गर्नुभयो।
निर्वाचनमा पराजय भोगेपछि पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा कार्यकर्ताबाट सुझाव संकलन गरी समीक्षा प्रतिवेदन तयार गरिएको उहाँले जानकारी दिनुभयो। सोही प्रतिवेदन र सुझावका आधारमा पार्टीले आफ्नो आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गरेको उहाँको भनाइ थियो। ‘कार्यदलले कार्यकर्ताका सुझाव संकलन गरी सहमतिका आधारमा ४० बुँदे सङ्कल्प प्रस्ताव तयार गरेको छ। उक्त प्रस्तावको जगमा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी जीवनमा देखिएका समस्याहरूलाई सूत्रबद्ध गर्दै आगामी दिनमा अघि बढ्न दुई कार्यभार र १५ वटा काम तय गरेको छ,’ पोखरेलले भन्नुभयो।
महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटना तथा फागुन २१ गते सम्पन्न निर्वाचनपछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको एमालेको निष्कर्ष रहेको पनि बताउनुभयो। ‘उक्त घटनापछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको एमालेको विश्लेषण थियो। सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको छ,’ उहाँले भन्नुभयो।
उहाँले एमाले नेतृत्वमा गठन भएका दुईवटा नौमहिने सरकारबाहेक अन्य सरकारका पालामा पनि महत्त्वपूर्ण कामहरू भएको उल्लेख गर्दै ती उपलब्धिका बाबजुद पार्टीले अपेक्षाअनुसार जनमत विस्तार गर्न नसकेको बताउनुभयो। विशेषगरी २०७४ सालमा गठन भएको शक्तिशाली वामपन्थी सरकारका समयमा समेत वामपन्थी जनमत विस्तार हुन नसकेको विषयलाई पार्टीले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो।
‘२०७४ सालमा गठन भएको शक्तिशाली वामपन्थी सरकारका समयमा समेत वामपन्थी जनमत विस्तार हुन सकेन। समाजलाई परिवर्तन गर्ने उद्देश्य राखिएको पार्टीले शक्तिशाली सरकार निर्माण भएका बेला जनमत विस्तार गर्न किन सकेन भन्ने कुरा हाम्रो मूल्याङ्कनको विषय बन्नुपर्दछ। जब–जब हामी यो सत्यलाई मूल्याङ्कन गर्न सक्दैनौँ, तबसम्म समाजवाद निर्माणको ध्येय र उद्देश्य हासिल गर्न सक्दैनौँ,’ पोखरेलले भन्नुभयो।
उहाँले विगतका राजनीतिक उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। निर्वाचनको परिणामलाई केवल पराजयका रूपमा मात्र नहेरी त्यसबाट प्राप्त सन्देशका आधारमा संगठनात्मक सुधार र राजनीतिक कार्यदिशा परिमार्जन गर्नुपर्ने उहाँको भनाइ थियो।
विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनले संगठनको आगामी कार्यदिशा, नेतृत्व चयन तथा प्रवासमा रहेका नेपालीका सरोकारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।














प्रतिक्रिया दिनुहोस्