जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार १३:०३

एमालेविरुद्ध फैलाइएका भ्रम र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्छ : विद्यादेवी भण्डारी


काठमाडौं, कात्तिक १८ । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका विरुद्ध फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताउनुभएको छ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले एमालेले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे जनतामाझ सही सूचना पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। ‘पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ। पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ,’ भण्डारीले भन्नुभयो।

उहाँले एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएको बताउनुभयो। एमालेले महिला तथा युवालाई राजनीतिक, सामाजिक र नेतृत्वदायी भूमिकामा अगाडि बढ्ने अवसर र वातावरण सिर्जना गरेको उहाँको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले प्रवासमा रहेका नेपालीलाई स्वदेशको निजी क्षेत्रसँग सहकार्य गरी उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो। त्यसका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुका साथै नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो। ‘प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकाससँग जोड्न सके मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ,’ उहाँको भनाइ थियो।

उहाँले प्रवासमा रहेका नेपालीको अवस्था, आवश्यकता र समस्या फरक–फरक हुने भएकाले सबैलाई समेट्ने गरी संगठनका गतिविधि सञ्चालन गर्न पनि आग्रह गर्नुभयो। ‘प्रवासमा रहेका सबै नेपालीको अवस्था र आवश्यकता र समस्या एउटै पनि छैन र हुँदैन, ती सबैलाई समेटेर सङ्गठनका गतिविधि अघि बढाउनु पर्छ,’ भण्डारीले भन्नुभयो।

उहाँले प्रवासी नेपाली मञ्चलाई थप समावेशी, व्यवस्थित र सुदृढ बनाउँदै विश्वभर रहेका नेपाली समुदायसँग संगठनको सम्बन्ध विस्तार गर्नुपर्नेमा समेत जोड दिनुभयो।

अधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, प्रवास इन्चार्ज एवं उपमहासचिव लेखराज भट्ट र सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्छ।

विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहेको अधिवेशनले प्रवासी नेपाली मञ्चको आगामी संगठनात्मक कार्यदिशा, नेतृत्व चयन, प्रवासमा रहेका नेपालीका सरोकार तथा नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा प्रवासी नेपालीको भूमिकालगायतका विषयमा छलफल गर्नेछ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायबीच एकता, सहकार्य र संगठनात्मक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले अधिवेशन आयोजना गरिएको हो।