जनता टाइम्स

२१ असार २०८०, बिहीबार १८:२३

कोशीमा संबिधान र लोकतान्त्रिक पद्धतिबिपरित गएर मुख्यमन्त्री नियुक्त गरिएको शेखरको निश्कर्ष, यस्तो छ आधार


काठमाडौं, असार २१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनमा सभामुख सहभागी हुनै नसक्ने बताउनु भएको छ । कोशी प्रदेशमा सभामुखलाई जोडेर मुख्यमन्त्री नियुक्त गरेको बिषयमा आफ्नो धारणा राख्दै कोइरालाले आपत्ति जनाउनु भएको हो ।

कोशी प्रदेशमा बहुमत पुर्याउन कांग्रेससहितको गठबन्धनले सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेलगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिसक्नु भएको छ । सो बिषयमा कोइरालाले कोइरालाले सरकार गठनमा सभामुख सहभागी हुन खोज्नु विधि र प्रक्रिया विपरीत रहेको बताउनु भयो ।

सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठन गर्नु संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत हुने उहाँले उल्लेख गर्नुभएको छ । ’सभामुख आफैंले हस्ताक्षर गरेर सरकारलाई समर्थन गरे लोकतन्त्रको मर्यादा र अभ्यासविपरीत नेता कोइरालाको ठहर छ,’ कोइरालाले भन्नुभयो, ’सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुन जान्छ ।’ नेता कोइरालाले लेख्नुभएको छ ।

सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसद्को कार्य सञ्चालन गर्नु र अध्यक्षता गर्नु भएको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ, ’यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्नेबाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ ।’

प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था रहेको तर प्रदेश सभाको सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या नभएको कोइरालाले उल्लेख गर्नुभएको छ ।