जनता टाइम्स

२२ असार २०८०, शुक्रबार १३:३३

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभामा एमालेको अवरोध, आइतवारसम्म स्थगित


काठमाडौं, असार २४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभा बैठक अवरोध गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंहले पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिप्रति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ।

आजको बैठक सुरु हुनसाथ एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ ? भन्दै प्रश्न पनि सोध्नुभयो ।

एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले उठेको प्रश्न जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा बोल्ने वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।

एमालेले अडान नछाडेपछि बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ। अर्को बैठक आइतबार बिहान ११ः३१ बजे बस्ने अध्यक्ष तिमल्सिनाले बताउनु भयो ।