काठमाडौं, असार २२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको काम कारबाहीमा सन्तोसजनक नरहेको निश्कर्ष सुनाउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनतामाझ कामको डेलिभरी दिन नसकेको कारण आफूहरु सन्तुष्ट हुन नसकेको बताउनु भयो ।
उहाँले सरकार विकास र सुशासनमा चुकिरहेको बताउनु भयो । ठूल्ठूला काण्डहरूप्रति समर्थन रहे पनि जनतामाझ सरकारले कामको डेलिभरी दिन नसकेको थापाको भनाई छ । ’सरकारप्रति सत्तापक्षकै धेरै सांसदहरूमा आक्रोश छ । डेलिभरीको सबालमा जसरी सरकारले काम गर्नपर्थ्यो, त्यो काम भएकै छैन । जटिल अर्थतन्त्रका बेला नागरिकले अनुभूति हुने काम भइरहेका छैनन्। नागरिकले अनुभूत गर्न नपाए त्यो छटपटी हामीलाई पनि हुन्छ,’ थापाको भनाई थियो ।
प्रधानमन्त्री दाहालले ’कम्फर्ट मेजोरिटी’को धाक लगाउन नहुने पनि थापाले बताउनु भयो । बालुवाटारमा हुने सत्ता गठबन्धनको बैठकमा सबै ठीकठाक भनेर नटार्न पनि उहाँले आग्रह गर्नुभयो ।
’सरकार सञ्चालन गर्ने साथीहरूलाई मैलै संसदमा पनि भनेको थिएँ, तपाइँहरुले यदि हामीलाई टाउको गनेर मसँग टन्न सांसदहरू छन । म कम्फर्टेबल मेजोरिटीमा छु भनेर गठबन्धनका ठूल्ठूला नेताहरू बालुवाटार बैठकमा बसेर सब ठीकठाक छ भन्नुभएन । कुनै बेला सब ठीकठाक नहुन पनि सक्छ । किनकि त्यो ठीकठाक हामीलाई पनि लाग्नुपर्छ,’ थापाले भन्नुभयो, ’हामीलाई त्यतिबेला ठीकठाक लाग्छ जतिबेला नागरिकलाई ठीकठाक लाग्छ । हामीले प्रतिनिधित्व गर्ने जनताहरू ठीक मानिरहेका छैनन्। पलपलमा काम र कामसँगै परिणाम आओस भन्ने हाम्रो चाहना छ। डेभलमेन्ट र गर्भनेन्सको काममा हामीलाई चित्त बुझिरहेको छैन ।’













प्रतिक्रिया दिनुहोस्