जनता टाइम्स

२४ असार २०८०, आईतवार १४:३९

आरजुको दावी झुटो सावित, पैसा दिएको भन्ने अडियो भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त सन्देशकै भएको पुष्टि


काठमाडौं, असार २४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई आरजु राणा देउवालाई रकम बुझाएको भन्ने अडियो मिलेको छ ।

आरजुकै निवेदनअनुसार परीक्षण गर्दा उक्त अडियो यही प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मिलेको हो । शर्माले राणालाई पैसा बुझाएको भनेका थिए । उक्त अडियो बाहिर आएपछि राणाले नक्कली अडियो भएको र यसबारे जाँच गर्न भन्दै प्रहरीमा गत वैशाख २७ गते उजुरी दिनुभएको थियो ।

उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार उजुरीमाथि भएको छानबिनको प्रगतिबारे जानकारी गराउँदै यस्तो बताउनु भएको हो ।

’मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा ’स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच’ भनी भनी उल्लेख भएको जुन स्वर (भ्वाइस ) जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको ’कन्ट्रोल स्याम्पल’ सँग मेल खाएको’, कडायतले दिएको जानकारीमा छ, ’कहाँ र कसबाट ’ओरिजिनेट’ भएको भन्ने सम्बन्धमा ’टिकटक’ सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको। निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ,’ बिज्ञप्तीमा भनिएको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी कांग्रेस नेतृ देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो फेक भएको दाबी गर्दै छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो । देउवाले साइबर ब्युरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेर निवेदन दिनुभएको थियो ।

‘विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य बेहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस भनी यो निवेदन पेस गरेको छु,’ देउवाले दिनुभएको निवेदनमा भनिएको छ ।

सोही निवेदनको आधारमा परीक्षण गर्दा शन्देश शर्माकै भएको पाइएको हो । शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवालाई रकम बुझाएको बताएका थिए ।