गणेश बस्नेत

२८ असार २०८०, बिहीबार १४:२९

कुवेत हिंडेका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता


काठमाडौं, २८ असार । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई भिषा शंकास्पद भएको भन्दै विमानस्थलबाटै फर्काएको छ । बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको हो ।

विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उहाँहरूले श्रम स्वीकृति पनि लिइसक्नु भएको थियो । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला हुनुहुन्छ ।

अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीका अनुसार श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उहाँहरुलाई फर्काइएको हो । ‘घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान मिल्दैन, तर फरक–फरक भिसाका कागज बनाएर म्यानपावर कम्पनीले लागेको पुष्टि भएपछि उहाँहरुलाई प्रस्थान अनुमति नदिएका हौं,’ उहाँले भन्नुभयो, ‘करिब ८० जना श्रमिकले हामीलाई नै भिसाबारे अनुसन्धान गरिदिन आग्रह गर्नुभएको छ ।’

उहाँका अनुसार पछिल्ला केही दिनमा कुवेतमा यस्तो भिसामा जानेहरुको संख्या बढेपछि जानेहरुसँग सोधपुछ बढाइएको थियो । त्यही क्रममा बुधबार कुवेत जान हिंडेकाहरुसँग अनौपचारिक रुपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको विभागको दाबी छ ।

‘यसबारे श्रम मन्त्रालय र गृह मन्त्रालयका सचिवज्यूहरुसँग हामीले छलफल गरिसक्यौं,’ उहाँले भन्नुभयो , ‘थप अनुसन्धान गरेर सम्बन्धित निकाय (वैदेशिक रोजगार विभाग) मा सम्बन्धित म्यानपावरलाई कारवाही गर्न लेखी पठाउँछौं ।’ जाली भिसा लगाएको पुष्टि भएमा विभाग आफैंले पनि कारवाही गर्ने महानिर्देशक अधिकारीले बताउनुभयो ।

स्रोतका अनुसार इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।

वैदेशिक रोजगार व्यवसायी संघले भने अध्यागमन कार्यालयको कदमको विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारी श्रम स्वीकृति लिएर हिंडिसकेका श्रमिकलाई विना कारण रोकेर दुःख दिने काम मात्रै भइरहेको बताउँनुहुन्छ ।

‘सरकारले नै भिसा जाँचेर श्रम स्वीकृति दिएको छ, तर अध्यागमनले शंका लाग्यो भन्दै रोक्ने काम सही हैन,’ उहाँले भन्नुभयो , ‘अनाश्यवक रुपमा दुःख दिने काम भइरहेको छ, यसबारे गृहमन्त्रीज्यूसँगै कुरा राख्छौं ।’

आइतबार श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो । एससीसी म्यानपावर कम्पनीबाट जोर्डनको मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिला श्रमिकहरुलाई अध्यागमनले शंकास्पद भिसा भन्दै फर्काएको थियो ।