काठमाडौं, साउन १ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना र राष्ट्रिय सुरक्षाका सम्वन्धमा उठाइएको सवालप्रति कडा असन्तुष्टि जनाउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले हाल सार्वजनिक रूपमा राज्यका अंगहरूलाई कमजोर बनाउने हिसावले कुराहरू उठाउनुलाई अनुचित र हानीकारकको संज्ञा दिनुभएको छ ।
‘अहिले मुलुकमा देखापरिरहेको सामाजिक अराजकता, सांस्कृतिक अधपतन तथा अर्थतन्त्रभित्र देखापर्दै गएको विश्रृंखलतालाई बढावा दिँदै राज्यलाई नै कमजोर बनाउने हिसावले अनेक खेलहरू चलिरहेको सन्दर्भमा सेना र राष्ट्रिय सुरक्षाका सम्वन्धमा जे जस्तो तरिकाले कुराहरू उठाईंदैछ, उचित देखिदैनन ! ’ सामाजिक सञ्जालमा पोखरेलले लेख्नुभएको छ ।
उहाँले यो बहशमाथि कडा आपत्ति पनि जनाउनु भएको छ । पोखरेलले थप्नुभएको छ, ‘नेपाल राष्ट्रलाई नै क्रमशः कमजोर बनाउने रणनीतिक र आपराधिक खेल चलिरहेको अहिलेको अवस्थामा दरो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता टड्कारो बनिरहेको बेला राज्यका अंगहरूलाई कमजोर बनाउने हिसावले कुराहरू उठाउनुलाई अनुचित र हानीकारक सिवाय अरू मान्न सकिदैन ।’
जिम्मेवार तहमा रहेका केही व्यक्तिहरूले नेपालको रक्षा स्थिति र नेपाली सेनाका सम्वन्धमा व्यक्त गरेका विचार तथा अभिव्यक्तिहरूलाई केवल सामान्य समाचारका रूपमा मात्र बुझन नहुने उहाँको भनाई छ ।
‘ती अभिव्यक्तिहरू २०७२ मा संविधान सभाबाट जारी भएको संविधानमा गरिएको ब्यवस्था, सैनिक ऐन र नेपालको राष्ट्रिय सुरक्षा नीति आदि बारेमा यात जानकारी बिना या निश्चित आग्रहबाट निर्देशित भएर यस्ता कुराहरू बाहिर आएका वा ल्याइएका हुन् भनेर बुझ्नुपर्ने हुन्छ,’ पोखरेलले भन्नुभएको छ । नेपालको संविधानप्रति प्रतिवद्ध संस्था रहेको स्मरण गर्दै उहाँले नेपाली सेनाको प्राथमिक दायित्व मुलुकको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा नै भएको उल्लेख गर्नुभएको छ ।
पोखरेलले नेपाली सेनाले कतिपय कमजोरीको बावजुद नेपाली सेनाले आफ्नो संवैधानिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय जिम्मेवारी पूरा गरिरहेको निश्कर्षसमेत सुनाउनु भएको छ । नेपाली सेनासित गाँसिएका कतिपय कुराहरू छलफलका विषय हुन सक्ने तर कुत्सित सोचसहित हुने बहस उचित नहुने उहाँको भनाई छ ।












प्रतिक्रिया दिनुहोस्