जनता टाइम्स

१ श्रावण २०८०, सोमबार १८:५६

काठमाडौंमा बढ्यो अपराधका घटना, के भन्छन एसएसपी कार्की ?


काठमाडौं, साउन १ । आर्थिक वर्ष २०७९-८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेका छन् । जिल्ला प्रहरी परिसर काठमाडाैंले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७८-७९ को तुलनामा २०७९-८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको जनाएको हो ।

०७८-७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा ०७९-८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीमध्ये सबैभन्दा बढी बैंकिङ कसुर सम्बन्धी ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन् । अघिल्लाे वर्ष बैंकिङ कसुर सम्बन्धी ३ हजार ७ सय १५ मुद्दा थिए । अभद्र व्यहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा अभद्र व्यहारका मुद्दा २ हजार ३ सय १६ थिए ।

आर्थिक वर्ष ०७९-८० मा प्राप्त २ हजार १ सय ६२ उजुरीमध्ये ६ सय ४१ को मात्रै फर्छौट भएको छ । एसएसपी कार्कीका अनुसार अनलाईन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरु पनि पछिल्लो समय बढ्दै गएका छन् ।

काठमाडाैं जिल्लामा देखिएका अपराधका चुनौतीहरुलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो । नाकामा प्रवधियुक्त प्रणाली जडान गरी अपरान्ध नियन्त्रणतर्फ ध्यान दिइने एसएसपी कार्कीले बताउनुभयाे ।

साइबर अपराध र अनलाइन ठगीका घटनाहरु हुन गर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरीने, प्रभावकारी तवरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाडाैं निर्माणको अवधारणालाई मुर्तरुप प्रदान गरिने पनि उहाँले बताउनुभयाे ।