जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार १९:०५

प्रधानमन्त्री बनेकै दिन पुरानो गठबन्धन ब्यूँताउन प्रचण्ड सहमत भएको उपप्रधानमन्त्री खडकाको खुलासा


काठमाडौं, साउन २ । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री बनेकै दिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँगको गठबन्धन तोडेर आफूहरुसँगको पूरानो गठबन्धन बनाउन सहमत भएको खुलासा गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा खडकाले यस्तो खुलासा गर्नुभएको हो । उहाँले दाहाल प्रधानमन्त्रीमा नियुक्त भएकै दिनदेखि नै आफूहरुले पुरानो गठबन्धन ब्युँताउने प्रयत्न गरेको पनि बताउनु भयो । उपसभापति खड्काले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिनदेखि नै एमालेलाई सरकारबाट हटाएर पुरानै गठबन्धन ब्युँताउने पहल भएको बताउनु भयो ।

संघ र प्रदेशमा पहिलो दल हुँदाहुँदै पनि कांग्रेस सरकार बाहिर बस्ने परिस्थिति अन्त्य गर्न आफूहरुले पुस १० गते बेलुकीदेखि नै पहल थालेको उहाँले बताउनुभयो ।
’विविध परिस्थितिका कारण गठबन्धन सरकारको निरन्तरताको अभियान बिग्रियो, हाम्रो सभापतिको नेतृत्वमा रहेको गठबन्धन पुस १० गते विविध कारणले विभाजित भयो, जसरी संविधान जारी गरेको जस लिएको कांग्रेस विविध कारणले सडकमा पुग्नुपरेको घटना थियो, त्यसैगरी ०७९ पुस १० गते अर्काे दुर्घटना भयो, कांग्रेस संघ र प्रदेशमा सत्ता बाहिर भयो, मुलुकका सबै संरचनामा बाहिर रहने अवस्था भयो,’ खडकाले भन्नुभयो, ‘त्यही १० गतेको बेलुकीदेखि नै फेरि एउटा प्रयत्नको प्रारम्भ गरियो – भत्किएको गठबन्धनलाई फेरि पुर्नस्थापना गर्ने, जेजे कारणले बिग्रिएको भएपनि सम्हाल्ने पार्टी नेतृत्व र त्यसमा संलग्न सबै नेतृत्वले प्रारम्भ गरियो ।’

पुस १० गतेको परिदृश्यलाई अन्त्य गर्न पुस २६ गते प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएबापत कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको पनि खड्काले बताउनुभयो ।

’पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई उहाँलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ, त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो, आज मैले भन्नुपर्छ – त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा वार्ता भएको थियो, त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ, त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनःस्थापित हुने राजनीतिक वातावरण बन्यो, त्यही वातावरणको परिणाम स्वरूप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रूपमा निर्वाचित गर्यौं,’ खडकाको भनाई थियो ।