काठमाडौं, ५ साउन । एमाले पोलिटब्यूरो सदस्य तथा सांसद सुर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग उहाँको कार्यकालमा कति सुन सेटिङ्गमा भित्रियो त्यसको हिसाव माग्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद थापाले गृहमन्त्रीजीले जवाफदेही भएर छानविन प्रभावित नहोस भनि स्वनिलम्बन वा राजिनामाको घोषणा गर्न अत्यन्त ढिलो भइसककेको उल्लेख गर्नु भएको छ ।
यस्तो छ स्टाटस
हवाई यात्राको क्रममा गौचरन एयरपोर्टमा प्रायः सधैभरी प्रतिनिधिसभा सदस्यको लोगो लगाएर म आम यात्रु जसरी सुरक्षा चेकजाँच गराउँछु। कहिलेकाहीँ भिआइपी कक्षतर्फ अलिक लामो प्रतिक्षाको लागि पनि जान्छु । तर सुरक्षा जाँचको प्रक्रिया पूरा गरेर मात्रै । त्यसक्रममा कलम, मोवाइल र पेटीसमेत खोलेर छुट्टै ट्रेमा देखाउन र एक्सरे मेशीनमा राख्न लगाइन्छ । त्यसो गर्नु संवदनशील सुरक्षा प्रयोजनले सही नै हो भनेर सहयोग गर्दै आएको छु । प्रहरी सुरक्षाकर्मीले त्यति गरिसक्दा शुरू र अन्तिमका एक्सरे मेशीन पार गर्नेक्रममा दुई–दुई पटक शरीर छामछुम पनि गर्छन !
यो सबै देखाउन र लोक रिझाइका लागि गर्ने गरिएको हो त ? एक क्वीन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँचपरीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो ?
यसमा गृहमन्त्रीजीले जवाफदेही भएर छानविन प्रभावित नहोस भनि स्वनिलम्बन वा राजिनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो । नैतिकता र जवाफदेहिता फगत आदर्शको रटान र स्टन्टवाजी वा आत्मप्रशंसाको खोक्रो अभिनय होइन र हुनैसक्दैन । जिम्मेवार व्यक्ति स्वयंले दृष्टान्त बन्न सक्नुपर्ने निर्मम विषय हो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठजी, जवाफ दिन सक्नुहुन्छ ?
तपाईको कार्यकालमा कति क्वीन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो ?
अनि, सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त ? अब राजिनामा दिएर छानविनलाई सघाउनुस, अन्यथा तपाईंभन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन !













प्रतिक्रिया दिनुहोस्