जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १९:२७

बिमानस्थलबाट क्विन्टल सुन तस्करीमा संलग्न ३ जना भन्सार अधिकृतसहित ६ जना पक्राउ


काठमाडौं, साउन ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा ३ जना भन्सार अधिकृतसहित थप ६ जनालाई पक्राउ परेका छन । पक्राउ पर्नेमा ३ भन्सार अधिकृत र ३ जना एजेण्ट रहेका छन ।

विमानस्थल भन्सारबाट तस्करीको सुन पार गराएको आरोपमा राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स–रे प्राविधिक सरोज श्रेष्ठलाई आज पक्राउ गरेको हो । त्यस्तै भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोक बलेफीका यादव पराजुलीलाई पनि बिभागको टोलीले पक्राउ गरेको हो ।

गत मंगलबार विभागले भन्सार जाँच पास गरी बाहिरिएको करिब १ क्विन्टल सुनसहित २ जनालाई पक्राउ गरेको थियो । त्यसपछि बुधबार र बिहीबारको अनुसन्धानमा एक भारतीय र एक चिनियाँसहित आठ जना यही प्रकरणमा पक्राउ परिसकेका छन । बिभागले अनुसन्धान अघि बढाएलगत्तै विमानस्थल भन्सार अधिकृत चन्द, खरिदारद्वय ढकाल र श्रेष्ठ निलम्बनमा परेका थिए । निलम्बित ३ कर्मचारी र अन्य ३ एजेन्टलाई आज पक्राउ गरिएको हो ।

विभागले सुन तस्करका एजेन्ट आशंकामा लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका अर्का एजेन्ट चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीन विमानस्थल अध्यागमन डेस्कबाट पक्राउ गरेको थियो । दुवै विदेशी सुन तस्करीमा संलग्न मुख्य गिरोहका सहयोगी रहेको अनुसन्धानबाट खुलेको छ ।

यसैगरी मंगलबार नै भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल, हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट पक्राउ परेका थिए । त्यही क्रममा आइतबार ६ जनालाई पक्राउ गरिएको हो । विभागले आइतबार भन्सार विभागलाई पत्र पठाएर निलम्बित ३ कर्मचारीलाई उपस्थित गराउन भनेको थियो । त्यसपछि विभागमा पुगेका कर्मचारीहरुलाई त्यहींबाट नियन्त्रणमा लिइएको हो ।