जनता टाइम्स

९ श्रावण २०८०, मंगलवार १८:२३

गगन-सोबिता-रबिन्द्रसहित खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले तोक्यो जरिवाना (सूचीसहित)


काठमाडौं, साउन ९ । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ ।

आयोगले नेपाली नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापा, विजय गच्छदार, राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, नेकपा एमालेका नेता डा. राजन भट्टराई, पूर्वमुख्यमन्त्री शेरधन राई, नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री महेन्द्रराय यादवलगायतकालाई खर्च विवरण नबुझाएकोमा आयोगले जरिवाना तोकेको छ ।

यस्तै माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती, राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, रास्वपाका रमेश खरेल, पुकार बम, विवेकशील साझा पार्टीका महासचिव रञ्जु दर्शना (न्यौपाने), विवेकशील साझाकै मिलन पाण्डे, एमालेका नेता सर्वेन्द्र खनाल, रास्वपाका सांसद शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, माओवादी नेता कल्पना धमलासहितका नेता तथा सांसदको नाम पनि खर्च विवरण सार्वजनिक नगर्नेको सूचीमा रहेको छ ।

यस्तै माओवादी नेता अञ्जना विशंखे, राप्रपाका नेता रेखा थापा, स्वतन्त्र सांसद योगेन्द्र मण्डल, जसपाका सांसद प्रदीप यादव, कांग्रेस नेता उमाकान्त चौधरी, एमाले नेता एकवाल मियाँ, फरार सांसद लक्ष्मी महतो कोइरी, लोसपाका सांसद महन्त ठाकुर, जसपाका सांसद उपेन्द्र यादवलाई पनि १५ हजार जरिवाना तोकिएको छ ।

यस्तै आयोगले ७४ जना उम्मेदवारसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभा अन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।

जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी त्यसको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने तथा निर्वाचन खर्चको विवरण एक साता भित्र सार्वजनिक गरी त्यसको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदनसहित पेश गर्न पुनः आदेश दिने निर्णय भएको छ ।

आयोगले प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५÷१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ । साथै सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ ।

आयोगले बुधबार आज सूचना जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोकेको हो । यससँगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ । हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको पनि आयोगले जनाएको छ ।

नेपाली कांग्रेसका गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीसहितका सांसदहरूको नाम पनि खर्च विवरण नबुझाउनेहरूको सूचीमा आयोगले सार्वजनिक गरेको छ । यस्तै आयोगले ७४ जना उम्मेदवारहरूसँग आयोगले स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभा अन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।