जनता टाइम्स

९ श्रावण २०८०, मंगलवार १८:५९

चिनियाँ बिदेशमन्त्री बर्खास्त, यस्तो छ कारण


काठमाडौं, साउन ९ । चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन् । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले यसबारे समाचार सम्प्रेषण गरेको छ ।

तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए । तर उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन । राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार अब परराष्ट्रपमन्त्रीको जिम्मेवारी वाङ यीले सम्हाल्नेछन् । नेपाल मामिलाका पनि जानकार मानिने वाङ दोस्रो पटक परराष्ट्रमन्त्री बन्नुभएको हो । उहाँ यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हाल्नुभएको थियो ।

५७ वर्षीय काङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतसमेत हुनुहुन्थ्यो । राजदूतको पद सम्हालेपछि उहाँ परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएको हो । पछिल्लो पटक जकार्तामा भएको दक्षिण एसियाली राष्ट्रहरूको संगठन (आसियन) को सम्मेलनमा पनि काङ स्वास्थ्य समस्या कारण देखाउँदै परराष्ट्रमन्त्रीको रुपमा सहभागी हुनुभएन ।

उहाँको रहस्यमयी अनुपस्थितिले पनि उनी चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) नेतृत्वको पक्षबाट बाहिर गएको हुनसक्ने बताइन्छ । तियान्जिनका स्थायी बासिन्दा काङ १९८० देखि नै चीन सरकारमा रहँदै आउनु भएको थियो ।