जनकपुर, साउन १४ । पार्टी स्थापनाको छोटो समयमै चर्चामा आएको नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । जनकपुरधाममा आज आयोजित एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले पार्टी एकीकरण भएको घोषणा गरेका हुन ।
एकीकरणको पत्रमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र सदभावनाका केन्द्रीय अध्यक्ष रामकुमार महतोले हस्ताक्षर गर्नुभएको छ । सहमतिअनुसार आगामी एकता महाधिवेशनसम्म एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहने छ भने दुवै पक्षबीच संझौता भएपश्चात महाधिवेशनसम्म झण्डा, चुनाव चिन्ह, छाप र बिधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै आएको हुनेछ ।

एकीकरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीले मधेशवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाउनु भयो । आफूलाई जनकपुर आउन नदिनका लागि मधेशवादी नेताहरुले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप समेत चौधरीले लगाउनु भयो ।चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेशको आन्दोलनका लागि लड्दा बस्नुपरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्