जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार २०:४५

सुन तस्कर मण्डलीको नेक्सस कहाँ–कहाँ छ ? खोजीखोजी भण्डाफोर गर्नुपर्छ : केपी ओली


काठमाडौं, साउन १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्कर समुहको ‘नेक्सस’ खोजीखोजी भण्डाफोर गर्नुपर्ने बटमलाइन सुनाउनु भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागको १०औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले सत्ता संरक्षित नभइ यति धेरै परिमाणको सुन तस्करी संभव नहुने र सत्ताधारी दलकै नेताहरुको नाम तस्करीमा जोडिएर आइरहेको तथ्य राख्दै यस बिषयमा तथ्यगत आधारमा भण्डाफोर गर्नुपर्ने बताउनु भयो । सुन तस्करीका मुख्य नाइके जोगाउने र आफ्नो गल्ती ढाकछोप गर्न सरकार र मन्त्रीहरु बिषयान्तर गर्न लागेको भन्दै भण्डाफोर जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले सत्ता संरक्षित तस्करी भएकै कारण गृहमन्त्रीले जोगिनका लागि एमालेतिर औला ठड्याएको बताउनु भयो । एउटा समुहले नियोजित रुपमा सत्ता संरक्षित तस्करीलाई ढाकछोप गर्न एमालेतिर आरोप लगाउने धन्दा चलाएको पनि उहाँको भनाई छ ।

दुई छाक भातका लागि आफ्नो स्वाभिमान बेच्न, देश बेच्न तयार हुने, आफ्नो सन्तानको भविश्य बर्वाद पार्न तयार भएका मानिसहरुलाई पनि एमालेबिरुद्ध खटाइएका छन

‘सुन तस्कर मण्डलीको ‘नेक्सस’ कहाँ कहाँ छ ? खोजीखोजी भण्डाफोर गर्नुपर्छ, यो सामान्य ढंगको तस्करी होइन, सत्ता संरक्षित तस्करी हो । सत्ताधारीहरु झुटको खेती गरिरहेका छन, आफू मिलेर तस्करी गर्ने अनि बिषयान्तर गर्ने अरु अरु झुटो कुरा लेखाइरहेका छन, बोलिरहेका छन, झुटको सीमा नाघिसकेकोले अव सवै मिलेर भण्डाफोर गर्नुपर्छ,’ बैठकमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै एक सदस्यले भने, ‘एक–एक झुटको एक–एक खण्डन कति गर्ने ? त्योभन्दा झुट, बेइमानी गर्ने, गलत सूचना दिने कम्पनीकै नाम किटेर जानुपर्छ । यिनीहरु झुटका खेती गर्छन, सत्य लेख्दैनन भनेर जनतालाई बुझाउनु पर्छ, यसो गर्न सकियो भने हामीबिरुद्ध मिसन चलाउनेहरु पनि तह लाग्छन ।’

अध्यक्ष ओलीले दुई छाक खानकै लागि केही समुहका मानिसहरु आफ्नो स्वाभिमान बेचेर एमालेबिरुद्ध अफवाह फैलाउने काम गरिरहेको बताउनु भयो । ‘दुई छाक भातका लागि आफ्नो स्वाभिमान बेच्न, देश बेच्न तयार हुने, आफ्नो सन्तानको भविश्य बर्वाद पार्न तयार भएका मानिसहरुलाई पनि एमालेबिरुद्ध खटाइएका छन,’ ती सदस्यका अनुसार अध्यक्ष ओलीले भन्नुभयो, ‘अव ती सवै झुटको जवाफ दिनुपर्छ । जनतालाई सही सूचना पुर्याउने काम गर्नुपर्छ ।’

अध्यक्ष ओलीले एमालेसँग बलियो संयन्त्र भए पनि त्यसको सही ढंगबाट सदुपयोग हुन नसकेको कारण बिरोधीहरुले पार्टीबिरुद्ध भ्रम फैलाउन सफल भएको बताउनु भयो । उहाँले अवको प्रचारको काम चुनौतीको सामना गर्ने गरी अघि बढाउन निर्देशनसमेत दिनुभयो । बैठकमा बिभाग प्रमुख एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले अवको चुनौतीको सामना गर्ने र पार्टीबिरोधी भ्रम मेटाउन सवै स्थानीय तहसम्म प्रचारको कामलाई ब्यवस्थित गरी बिरोधीको घेरावन्दी तोडने बताउनु भएको थियो ।