काभ्रे, साउन १६ । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा नेपाली नागरिकता लिएको पाइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर दावाले लिएको नागरिकता वडा कार्यालयको सिफारिस बिना नै बनेको खुलासासमेत भएको छ । सुन तस्करीमा संलग्न दावाले काभ्रेबाट विसं २०७४ पुष २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकतामा ठेगाना नमोबुद्ध नगरपालिका ११ नम्बर वडा उल्लेख छ । संघीय संसद र प्रदेशसभाको निर्वाचन भइ परिणाम आइरहेको बेला पारेर दावाले सो नागरिकता लिएका हुन । त्यसबेला देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो ।
एक वर्षअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) को टोली निमा तामाङको बारेमा अनुसन्धान गर्न आएको वडामा आएको थियो । तत्कालीन वडाअध्यक्ष कृष्णबहादुर लामाका अनुसार सिआइवीले ‘निमाको तीन पुस्ते विवरण र निमालाई पनि खोजबिन गरेको थियो । ‘वडाबाट निमा तामाङलाई नागरिकता बनाउन सिफारिस नै नगरिएकाले विवरण फेला पर्ने कुरा पनि भएन र थिएन पनि,’ लामाले भन्नुभयो ।
विसं २०७९ साउन १७ गते वडा कार्यालयले नगरपालिकामार्फत सीआईबीलाई पत्र पठाएको थियो । तत्कालीन वडाध्यक्ष लामाले निमालाई नागरिकता बनाउन सिफारिस नगरिएकाले सोही व्यहोराको पत्र वडा कार्यालयबाट नगरपालिका हुँदै सीआईवीलाई पठाइएको बताउनुभयो । वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई समेत निमा नमोबुद्ध ११ का नागरिक नभएको जानकारीेसहितको पत्र पठाएको थियो ।
दावाले २०७४ पुस २० गते काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ बाट वंशजको नागरिकता निकालेका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेले दावाको वंशजको नागरिकता जारी भएको पुष्टि गरेको छ । नागरिकता लिएको एक महिनामै उनले २०७४ साल माघ ११ गते नेपाली राहदानी निकालेका थिए । नेपाली नागरिकता र राहदानीमा उनको जन्म मिति २०४१ वैशाख १५ गते उल्लेख छ । अहिले उनी नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गरिरहेका छन ।
बेल्जियमको राहदानीमा भने उनको जन्म मिति २०४० चैत ३ गते राखिएको छ भने ठेगाना लिथाङ उल्लेख गरिएको छ । लिथाङ तिब्बतमा पर्छ । नेपाली राहदानीको म्याद १ मार्च २०२८ सम्म र बेल्जियम राहदानीकोे म्याद ३ जनवरी २०३० सम्म रहेको छ । निमा तामाङले नागरिकतामा पेमा तामाङ राखेका छन । नागरिकता प्रमाणपत्र नम्बर ३०–१–७४–११८६८ रहेको छ । तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले निमाको नागरिकतामा हस्ताक्षर गरेका थिए । यद्यपी निमा तामाङको नाममा जारी गरिएको नागरिकताका कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालयको रेकर्डमा भेटिएको छैन ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ सत्तारुढ नेकपा माओवादी केन्द्रका बरिष्ठ नेताका पारिवारिक सदस्यका रुपमा रहेको तथ्य बाहिर आइसकेको छ । उनी पत्नी अमलामार्फत माओवादी नेता तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, माओवादीका उपमहासचिव तथा पूर्वअर्थमन्त्री बर्षमान पुन, पूर्वसभामुख ओनसरी धर्ती मगर र उहाँका परिवारका सदस्यसँग ब्यापारिक साझेदारसमेत रहेको देखिएको छ ।
उनले माओवादी नेताहरुको संरक्षणमा सुन तस्करी गरेर नेपालमा ब्यवस्थापनको जिम्मा लिएको तथ्य राजस्व अनुसन्धान बिभागको टोलीले पत्ता लगाएको छ । राजनीतिक संरक्षणका आडमा दावा अपराधको सञ्जाल फैलाउन सफल भएको तथ्यहरु पनि खुलेको छ ।













प्रतिक्रिया दिनुहोस्