जनता टाइम्स

१७ श्रावण २०८०, बुधबार १०:२०

सुन तस्करी काण्डले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी


काठमाडौं, साउन १७ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ। केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो।

कांग्रेसपछि माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो। तर पार्टी पदाधिकारी बैठकले लाइभ गर्ने निर्णय गरेपछि लाइभ गर्ने र नगर्ने विषयमा विवाद भएपछि आजको बैठकले नगर्ने निर्णय गरेको हो।

पछिल्लो समयमा सुन प्रकरणमा माओवादीका उच्च तहका नेताहरुनै संलग्न भएको र बैठक लाइभ गर्दा छलफलका आन्तरिक विषय बाहिर सार्वजनिक हुँदा आलोचना झनै बढने डरले माओवादी लाइभको निर्णयबाट पछि हटेको हो।

बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि पाँच-पाँच मिनेटको समय दिइने निर्णय गरिएको छ। यस अगाडि सचिव डिलाराम आचार्यले बैठकमा एक कुरा गर्ने र मिडिया, सामाजिक सञ्जालमा नेताहरूले अर्को कुरो बोल्ने र लेख्ने गरेकाले बैठक लाइभ गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो ।