काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटीको बैठकमा नेताहरुले नेतृत्वको गलत कार्यशैली र परिवार मोहका कारण पार्टी कमजोर बनेको टिप्पणी गरेका छन । केन्द्रीय कमिटीको बुधवारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले यस्तो टिप्पणी गरेका हुन ।
बैठकमा बोल्ने नेताहरुले आफ्नो सचिवालयमा आफ्नै छोरा–छोरी, ज्वाँई, भाई र भतिजाहरु राखेर असल नेता कार्यकर्ताहरु पाखा लगाईएको भन्दै आक्रोश पोखे । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै छोरी गंगालाई स्वकीय सचिव बनाएको प्रसंग उल्लेख गर्दै उनीहरुले यस्तो काम कम्युनिष्ट पार्टी र नेतामा हुनै नसक्ने ठोकुवा गरेको सहभागी एक सदस्यले जनताटाइम्स डटकमलाई बताए ।
‘सचिवालयमा किन चाहियो छोरा, छोरी, बुहारी र आफन्त ? सेटिङ मिलाउन सजिलो हुन्छ भनेर हो ? भन्ने कुरा अधिकांश सदस्यले बैठकमा राखेका छन,’ ती सदस्यले भने । बैठकमा केन्द्रीय सदस्य ओम शर्माले त अध्यक्ष प्रचण्ड यही तवरले नेतृत्वमा अर्काे २० वर्ष नेतृत्वमा रहेपनि समाजवादको लक्ष्यमा पुग्न नसकिने ठोकुवा गरेको ती सदस्यको भनाई छ ।
बैठकमा बोल्ने अन्य नेताहरुले पनि माओवादीका अहिले सरकारमा भएका नेताहरुले सचिवालयमा आफ्ना आफन्तबाहेक अरुलाई अवसर नदिएको भन्दै भ्रष्टाचार मौलाएको प्रमाण यही होइन र ? भन्ने प्रश्न गरेका थिए । नेतृत्वले र लाभको पदमा पुगेकाहरुले परिवारलाई सचिवालयमा राख्नुले पनि माओवादी भ्रष्टीकरणको बाटोमा अघि बढेको प्रमाणित भएको निश्कर्ष सुनाएका थिए ।
बैठकमा नेताहरुले अध्यक्ष प्रचण्डको छोरी मोहको कारण बालुवाटार र सिंहदरबारमा पार्टीका असल नेता कार्यकर्ताहरुले आफ्नो सुप्रिमोलाई भेट्ने र दुःख सुखका कुरा राख्ने अवसरसमेत नपाएको बताए । ‘अध्यक्ष कमरेड सुध्रिने हो भने पहिला सचिवालयबाट छोरी गंगा दाहाललाई हटाउनु पर्यो भन्ने भनाईसमेत सदस्यहरुले राखेका छन । केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ ।













प्रतिक्रिया दिनुहोस्