लाहोर, २० साउन । इस्लामाबाद स् पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गरिएको छ । इस्लामावादको जिल्ला तथा सत्र अदालतले इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाएको छ । इमरान खानले यो सजायविरुद्ध उच्च अदालतमा अपिल गर्ने मौका पाएका छन् ।
इमरान खानका वकिल सर्वोच्च अदालत पुगेका छन् । पूर्व प्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेपछि ट्रायल कोर्टका न्यायाधीशले पक्राउ पुर्जी जारी गरेका थिए । यस आदेशपछि इमरान खानलाई लाहोरको जमान पार्कस्थित उनको घरबाट पक्राउ गरिएको छ । उनलाई लाहोरबाट इस्लामावाद लैजाने तयारी भइरहेको छ । इमरान खान तीन वर्षको जेल सजाय पाएपछि ५ वर्षका लागि चुनाव लड्न पनि अयोग्य भएका छन् ।
के थियो इमरान खानमाथिको आरोप ?
इमरान खानलाई सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीको रूपमा आफ्नो पदको दुरुपयोग गरेको र सरकारी उपहारहरू किन्न र बेच्न आफ्नो शक्ति प्रयोग गरेको आरोप लागेको थियो । यी उपहारहरू इमरान खानले आफ्नो विदेश भ्रमणका क्रममा प्राप्त गरेका थिए र यसको मूल्य १४ करोड रुपैयाँ (६३५,००० डलर) भन्दा बढी थियो । यसपछि ट्रायल कोर्टले सुनुवाइपछि इमरान खानलाई सम्पत्ति लुकाउने र सरकारी उपहार बेचेकोमा दोषी ठहर गरेको थियो ।
यद्यपि, इमरान खानका वकिलहरूले ट्रायल कोर्टका न्यायाधीश दिलावर हुमायुनलाई पूर्वाग्रही भएको आरोप लगाएका छन् । यस्तो अवस्थामा पाकिस्तानमा फेरि एकपटक हिंसा बढ्ने सम्भावना छ । यसअघि पनि ९ मार्चमा इमरान खानलाई भ्रष्टाचारको मुद्दामा इस्लामावाद हाईकोर्टभित्रबाट पक्राउ गरिएको थियो । त्यसपछि पाकिस्तानभर इमरान खानका समर्थकहरूद्वारा चरम हिंसा भएको थियो ।
इमरान खानका एक समर्थकले भने कि इस्लामाबादको अदालतले इमरान खानलाई राजनीतिक मुद्दा (तोशाखाना केस) मा तीन वर्षको सजाय दिने निर्णय अत्यन्त निन्दनीय छ । कुनै प्रमाण छैन । धेरै पक्षपाती निर्णय हो । पाकिस्तानका अदालतहरू शक्तिशाली सेनाको ठूलो दबाबमा काम गरिरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्