पोखरा, साउन २० । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले बर्तमान सरकार जति समय रहन्छ, त्यत्ति नै मुलुक परनिर्भर हुने ठोकुवा गर्नुभएको छ ।
पोखरामा आजबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेशको प्रचार तथा प्रकाशन बिभागको योजना तर्जुमा बिस्तारित बैठक एवं कार्यशालामा बोल्दै गण्डकीका इञ्चार्जसमेत रहनुभएका सचिव बिष्टले बर्तमान सरकार मुलुक बिरोधी रहेको तथ्य राख्नुभयो ।
‘यो सरकार जती समय रहन्छ, त्यति नै देश बर्बाद हुन्छ । मुलुक झनझन परनिर्भर हुन्छ । यो सच्चाइलाई हामीले जनताको बीचमा स्थापित गर्नुपर्छ, सचिव बिष्टले भन्नुभयो । उहाँले बिमानस्थलबाट सरकार आफै संलगन भएर सुन तस्करी भइरहेको तथ्य उजागर भएको भन्दै यो सरकार अबैध काममा लिप्त बनेका बताउनु भयो ।
‘सुन तस्करीको घटनाको उच्चस्तरीय छानविन गर्न सरकार मानिरहेको छैन । तस्करीका मुख्य योजनाकारलाई जोगाउन र आफै संलग्न भएको कारण सरकार सुन तस्करीको उच्चस्तरीय छानविन गर्न मानिरहेको छैन,’ सचिव बिष्टले भन्नुभयो, ‘यसैबाट प्रष्ट हुन्छ कि सरकार आफै सुन तस्करीमा संलग्न छ भन्ने कुरा । कतै यो सरकार यी सम्भावित घटनाहरुसँग तर्सिएको त छैन ? उच्चस्तरीय छानविन गर्न नमान्नु भनेको आफै त्यो घटनामा संलग्न छु भन्ने प्रमाणित गर्छ ।’ उहाँले बर्तमान सरकार मुलुकको बैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गरिरहेको पनि बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिन र बिदेसीको सेवा गर्ने समुहहरुले एमालेबिरुद्ध घेरावन्दी गरिरहेको बताउनु भयो । उहाँले एमाले नेतृत्वको सरकारले गरेको कामलाई ढाकछोप गर्ने र मुलुकलाई बिदेसीको इसारामा चलाउन चाहनेहरुले गरिरहेको बताउनु भयो ।
‘बलियो राष्ट्रिय शक्ति बन्न नदिने अनेक चलखेलहरु भइरहेका छन । देशको हितबाहेक सवै काम गर्नेहरु सत्तामा रहेको कारण अहिले मुलुकको हितमा सोच्नै नसक्ने सरकार छ, यस्को भण्डाफोर गरेर अव हामी सवै बोल्न थाल्नुपर्छ,’ अधिकारीले भन्नुभयो, ‘यो षडयन्त्रविरुद्ध जनतालाई सचेत बनाउन जरुरी छ । नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरेरै देश र जनताको समस्या समाधान गर्नुपर्छ ।’
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले सुन तस्करीमा सरकार नै संलग्न रहेको तथ्य राख्नुभयो । उहाँले यति ठूलो तस्करी राज्यको संरक्षणबिना हुन नसक्ने बताउँदै तथ्यहरुले सरकार आफै तस्करीमा संलग्न छ भन्ने देखाएको बताउनु भयो ।

‘देशको हितमा सोच्नै नसक्नेहरू सत्तामा छन, तस्करी र भ्रष्टाचार मौलाएको छ । सत्ताधारीहरू लूटपाटमा छन । सत्ता संरक्षित तस्करीको भण्डाफोर गरेर तिनका मुखण्डो उदाङ्गो पार्नुपर्छ,’ गौतमले भन्नुभयो । उहाँले नेकपा एमाले यतिबेला सुदिकरण, सुदृढीकरण अभियानमा रहेको पनि बताउनु भयो ।
एमाले गण्डकी प्रचार बिभागका प्रमुख रश्मी आचार्यको अध्यक्षता र उपप्रमुुख पुन्य पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य एवं गण्डकी प्रचार तथा प्रकाशन बिभाग संयोजक राजीव पहारी, एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतका बक्ताहरुले एमालेबिरुद्धको घेरावन्दी तोडेर सफलता प्राप्त गर्नका लागि एमालेका सवै नेता कार्यकर्ताहरुले प्रचारका साधनलाई सही रुपमा सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
















प्रतिक्रिया दिनुहोस्