जनता टाइम्स

२२ श्रावण २०८०, सोमबार १२:१३

सभामुखले बोलाए शिर्ष दलको बैठक


काठमाडौं, २२ साउन । सभामुख देबराज घिमिरेले शिर्ष दलको बैठक बोलाउनुभएको छ । निरन्तर संसदमा अबरोध हुन थालेको तथा ८ महिनासम्म संसदीय समितिको सभापति चयन गर्न नसकिरहेको बेला सभामुख घिमिरेले शिर्ष दलका शिर्ष नेतासँग बैठक बोलाउनुभएको हो ।

सभामुखको सचिवालयका अनुसार सो बैठक आज दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ । सभामुख घिमिरेले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुनका लागि अनुरोध गर्नुभएको छ ।

गत साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेर अबरोध खुलाउन अनुरोध गर्नुभएको थियो भने प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसक्नुभएको छ ।

आइतबार पनि सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिए पछि शिर्ष नेताको बैठक बोलाइएको हो ।